NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ५ गते

असंवैधानिक कदमविरुद्ध जसपाले आन्दोलन अझै कडा पार्ने झाको चेतावनी

काठमाडौं । जसपाका नेता केशव झाले सरकारद्वारा चालिएको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदमको विरुद्धमा तेस्रो चरणको कार्यक्रम अझै कडा पारिने बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध पार्टीले घोषणा गरेको आन्दोलनको अन्तिम दिनको विरोधसभालाई ललितपुरको लगनखेलमा सम्बोधन गर्दै झाले यस्तो बताएका हुन् । ‘लोकतन्त्रमा अदालतलाई सबै नागरिकले सम्मान गर्नु पर्दछ। तर न्यायमूर्ती ज्यूहरु जो हाम्रो समाजको हिस्सा हुनुहुन्छ उहाँहरुले जुन आसयका साथ बहसको दौरान आजभोलि प्रश्न गरिरहनु भएको छ त्यसले आम जनमानसमा शंकाहरु उब्जिन थालेको छ।र पनि हाम्रो विश्वास के हो भन्ने उहाँहरुले आफ्नो मान सम्मान र प्रतिष्ठामाथि आँच आउने कुनै फैसला गर्नु हुन्न। संविधानको मर्म र भावना अनुसार नै फैसला गर्नुहुन्छ होला पक्कै पनि कल्पनामा फैसला गर्नु हुन्न’ उनले भने, ‘(प्रधानमन्त्रीजीले जनताको सार्वभौम अधिकार जो अहिले हनन गर्नु भएको छ राजा बनेर त्यसको लागि जनतासँग ढिला नगरी माफी माग्नु पर्दछ। प्रमले अहिले जो संवैधानिक संकट निम्त्याउनु भएको छ त्यसले गर्दा आम नागरिकले अहिले प्रश्न गर्न थालेका छन, संविधान नै नमान्नेले चुनाव के गर्ला ? फेरि जनताले त ५ वर्षको मतादेश दिएको होइन र अनि ३ वर्षमै किन चाहियो चुनाव ?’ अहिले निर्वाचन आयोगलाई पनि हामी खबरदार गर्न चाहन्छौं भन्दै उनले असंवैधानिक तरिकाले घोषणा भएको चुनावको तयारीको नाममा राज्यको ढुकुटी रित्याउन तर्फ नलाग्न ध्यानाकर्षण गराए । आफूहरुले चुनावबाट डराएर यस्तो नभनेको पनि उनले बताए । ‘प्रमज्यु कामचलाउ सरकारले सरकार विस्तार गर्न पाउँछ र ? देशमा समस्यै समस्या निम्त्याएर कसैले प्रश्न नगरोस भनेर राजा र तानाशाह हुन खोजेको हो ? नबिर्सिनुस् एकचोटी विश्व इतिहास हेर्नुस् गद्दाफी पनि तानाशाह नै थियो र त्याहाँको लोकतन्त्र प्रेमी जनताले के गरे ’ उनले भने । झाले कोरोनाको खोप जनताले निशुल्क पाउने व्यवस्था गर्न पनि आग्रह गरे ।