NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

सगरमाथा नाममा भारतीय दाबीबारे प्रधानमन्त्री ओलीको तर्क– ‘एभरेष्ट खान्छु भनेको छ र ?’

काठमाडौं । गत हप्ता भारतीय पत्रकार सुधीर चौधरीले सगरमाथालाई भारतले पनि दाबी गर्नुपर्छ भनेको प्रसंगबारे प्रधानमन्त्री केपी शर्मा ओलीले मुख खोलेका छन् । बिहीबार राजधानीमा आयोजित पार्टी निकट पत्रकारहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले उक्त प्रकरणमा यत्ति धेरै रोइलो मच्चाउन नपर्ने बताए । विदेशी टेलिभिजनलाई दिएको उक्त अन्तर्वार्तामा आलोचना गर्ने ठाउँ नभेटेपछि सबैजना उक्त प्रकरणलाई समातेर रोइलो मच्चाउन थालेको उनको भनाई छ । ‘एउटा विदशी टेलिभिजनलाई अन्र्तवार्ता दिएको थिएँ । आलोचना गर्ने ठाउँ कतै भेटेनन’, उनले भने, ‘ती पत्रकारले भारत पुगेपछि एभरेष्टमा आफ्नो मान्छे पहिला नाप्न गएका हुनाले नाम दाबी गर्नुपर्छ भनेछन् । यहाँ राष्ट्रबादको बबण्डर मच्चियो । उसले एभरेष्ट खान्छु भनेको छ र ?’ यो वाहियात विषय भएको भन्दै यसमा तमासा गर्नुपर्ने जरुरत नभएको उनको आशय थियो । ‘राष्ट्रवाद भनेको तमासा गर्ने विषय हो ? स्वाभिमानमा साँचो अर्थमा उभिने कुरा हो राष्ट्रवाद’, उनले भने । चौधरीसहितका तीन जना भारतीय नागरिक २६ पुस आइतबार बिहान ९:१० बजे त्रिभुवन विमानस्थलबाट सगरमाथाको आधार शिविर कालापत्थर उडेका थिए । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता लिन नयाँ दिल्लीबाट काठमाडौ आइपुगेका चौधरी प्रधानमन्त्री ओलीसँग अन्तर्वार्तामा लिनुअघि कालापत्थर पुगेका थिए । अनुमतिविना नै सगरमाथा क्षेत्रमा भिडियो खिचेको भन्दै निकुञ्जले जि न्यूजलाई प्रष्टीकरण पनि सोधेको थियो ।