NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

आजका ‘गुड न्यूज’ : नेपाल आइपुग्यो कोरोनाको खोप

काठमाडौं । आज दिनभर सञ्चारमाध्यमबाट अनेकौं खबरहरू संपे्रषित भए । त्यसमा नकारात्मक भाव बोकेका खबरहरूको बर्चस्व थियो । विकृत राजनीतिका खबरहरूले सञ्चारमाध्यमहरूको अधिकांश स्थान ओगटे । नकारात्मक खबरको बाढीका बीच केही सकारात्मक सन्देशहरू पनि प्रवाहित भएका छन् । नेपालवाचले आज दिनभर प्रकाशित यस्तै सकारात्मक खबरहरूको संक्षिप्त सूची तयार गरेको छ, ताकि नकारात्मक समाचार पढेर आजित पाठकलाई केही राहत मिलोस् । नेपाल आइपुग्यो कोरोनाको खोप भारत सरकारले दिएको कोरोना भाइरस (कोभिड–१९)को खोप नेपाल आइपुगेको छ । बुधबार मात्रै भारतले नेपाललाई १० लाख डोज खोप अनुदानमा दिने घोषणा गरेको थियो । सोही खोप बिहीबार काठमाडौं ल्याइएको हो । एयर इण्डियाको विमानमार्फत् कोभिडको खोप नेपाल ल्याइएको हो । भारतले अनुदानमा नेपाललाई दिन लागेको १० लाख डोज खोप बारेको जानकारी बुधबार स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजदुत विनयमोहन क्वात्राले पत्रकारसम्मेलनमार्फत् गराएका हुन् । भारतले बेलायती औषधी निर्माता कम्पनीसँग मिलेर विकास गरेको खोप नेपाललाई अनुदानमा दिएको हो । सिरम इन्स्टिच्युट अफ इन्डिया(एसआईआई) ले अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि निर्माता कम्पनी एस्ट्राजेनेकासँग मिलेर कोरोनाविरुद्धको कोभिसिल्ड खोप विकास गरेको हो । सोही खोप नेपाललाई उपलब्ध गराइन लागेको हो । अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले संयुक्त विकास गरेको ‘एजेडडी १२२२’ नामक खोपलाई भारतको एसआईआईले ‘कोभिसिल्ड’को नाम राखेर उत्पादन गरेको छ । अन्नपूर्ण आधार शिविर जान पिसिआर रिपोर्ट नचाहिने अन्नपूर्ण आधार शिविरका पदमार्गमा जान अब पिसिआर रिपोर्ट आवश्यक नपर्ने भएको छ । पर्यटकका लागि पिसिआर रिपार्ट अनिवार्य गरी यही माघ १ गतेदेखि विश्वको चर्चित उक्त पदमार्ग खुला गरिएको थियो । छोम्रोङ पर्यटन व्यवसायी समितिको मङ्गलबार बसेको बैठकले अबदेखि पदयात्रीका लागि पिसिआर रिपोर्ट नचाहिने निर्णय गरेकोे हो । समितिका सचिव दिलीप गुरुङका अनुसार कोरोना सङ्क्रमणको दर घट्दै गएको र जनजीवन सामान्य अवस्थामा फर्किँदै गरेको अवस्थालाई दृष्टिगत गरी पिसिआर रिपोर्ट अनिवार्य नठानेर यस्तो निर्णय लिइएको हो । ‘हामीले केही समयअघि पाहुनाका लागि होटल खुला राखे पनि कोरोना रिपोर्ट बोकेर मात्रै आउनुपर्ने भनेका थियौँ’, उनले भने, ‘अब कोरोना संक्रमण पनि घट्दै गएको र जनजीवन पनि सामान्य अवस्थामा फर्किएका कारण पिसिआर रिपोर्ट अलि झन्झटिलो महसुस गरी समितिले यस्तो निर्णय लिएको हो ।’ यो निर्णयसँगै पर्यटन आगान झन्झटिलो नहुने आश गरिएको छ । नेप्से परिसूचक हालसम्मकै उच्च साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक २ हजार ३ सय ७४.६४ मा पुगेर नयाँ कीर्तिमान कायम भएको हो । बिहीबार नेप्से परिसूचक ३१.८७ अंकले उकालो लागेको छ । नेप्से परिसूचक समग्रमा राम्रो सुधार भए पनि बैंक र म्युचल फण्ड उपसमूह भने बढ्न सकेनन् । बैंकिङ परिसूचक ३.८३ अंक र म्युचल फण्ड ०.०५ अंकले ओरालो लागेको छ । कुल २०९ कम्पनीको १ करोड ८१ लाख ५६७१ कित्ता शेयर दोस्रो बजारमा आउँदा कारोबार रकम भने ७ अर्ब ७९ करोड ८५ लाख २८ हजार ४३२ रुपैयाँ पुगेको छ । दुई एसिडपीडितलाई आयल निगममा जागिर एसिड आक्रमणमा परेका दुई जनालाई नेपाल आयल निगमले रोजगारी दिएको छ । ओखढुंगाकी पवित्रा कार्की र नवलपरासीकी बसन्ती परियारलाई आयल निगममले सहायक स्तरमा करारमा नियुक्त गरेको हो । निगम सञ्चालक समितिको बैठकले उनीहरुलाई निर्वाह खर्च पुग्ने गरी एक वर्षको करार गरेर निगमको काम काजमा खटाउने निर्णय गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । दुवै जनालाई गत पुस १६ गतेदेखि निगमको कामकाजमा खटाउने गरी निर्णय भएको उनको भनाइ छ । एसिड आक्रमणमा परेका दुबै जनाले आर्थिक अवस्था कमजोर भएको भन्दै सहयोगका लागि निगममा निवेदन दिएका थिए ।