प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेसका १३ भ्रातृ संस्था ७७ वटै जिल्लामा प्रदर्शन गर्दै

काठमाडौं । ५ पुसमा गरिएको प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेसका १३ वटा भ्रातृ संगठनले आज ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्दैछ । कांग्रेसले प्रधानमन्त्री केपी ओलीले सभा विघटन गरेर असंवैधानिक कदम चालेको भन्दै कांग्रेसले कदमविरुद्ध १३ भ्रातृ संस्थालाई सडकमा उतार्न लागेको हो । पार्टीकाे निर्णय अनुसार सोमबार कांग्रेसले १३ वटै भ्रातृ संस्थाले सडकमा उत्रिएर विरोध प्रदर्शनलाई प्रभावकारी बनाउन निर्देशन दिइसकेका छन् । ‘संसद विघटन मार्फत सर्वसत्तावाद उन्मुख कदम, चरम भ्रष्टाचार, कुशासन, कोभिड विरुद्धको संघर्षमा देखिएको अकर्मण्यता, जनसरोकारका बिषयमा सरकारी उदासिनता यी समग्र मुद्दालाई अघि सारेर हुने भोलिको प्रदर्शनमा सहभागी बन्न देशभरका हाम्रा सबै सदस्य, समर्थक, शुभचिन्तक एवं समस्त जनसमुदायमा हामी हार्दिक आग्रह गर्दछौं ।’ कांग्रेसका १३ भ्रातृ संस्थाले विज्ञप्तिमार्फत गरेको अपिलमा उल्लेख छ । तेस्रो चरण अन्तर्गत कांग्रेसले भ्रातृ सस्था र २४ माघमा शुभेच्छुक संस्थाको विरोधपछि ३ फागुनमा पार्टीकै आयोजनमा ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्दैछ । यस अघि प्रधानमन्त्रीले चालेको कदमविरुद्ध कांग्रेसले दुई चरणसम्म विरोध प्रदर्शन गरिसकेको छ ।
प्रतिक्रिया