कांग्रेस नेता पौडेल भन्छन्– संसद् पुनःस्थापनाले मात्र लोकतन्त्र र संविधान सही गतिमा आउँछ

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् पुनः स्थापनाले मात्रै लोकतन्त्र र संविधान सही गतिमा आउने बताएका छन् । कांग्रेसका विभिन्न भातृ संस्थाद्वारा आज यहाँ आयोजित सभालाई सम्बोधन गर्दै उनले संसद् विघटनको घटनामा कांग्रेसले एकढिक्का भएर विरोधका आवाज राख्नुपर्ने बताएका थिए । सोही कार्यक्रममा उनले संसद् पुनः स्थापना भएमा मात्रै लोकतन्त्र र संविधान सही गतिमा आउने बताएका हुन् । पौडेलले पार्टीले मोही माग्ने ढुङ्ग्रो लुकाउने गर्न नहुने बताएका थिए । उनले भने, ‘संसद् विघटन असंवैधानिक छ भनेर कांग्रेसले भनिसकेकाले यसको उपचार पनि कांग्रेसले खुलेर भन्नुपर्छ, मोही माग्ने ढुङ्ग्रो लुकाउने गर्न हुँदैन् ।’ उनले जनताले प्रतिनिधिसभालाई पाँच वर्षका लागि चुनेकाले प्रतिनिधिसभाको म्याद पाँच वर्ष नै हुनुपर्ने जिकिर गरे । ‘प्रतिनिधिसभा पुनःस्थापन भएपछि मात्रै कांग्रेसको मन्तव्य र गन्तव्य प्रष्ट हुन्छ’, उनले भने, ‘कांग्रेसको मन्तव्य यो कार्य अवैधानिक हो भनेर भन्ने र गन्तव्य भनेको वैधानिक बनाउने नै हो ।’ पौडेलले सर्वोच्च अदालतबाट संसद् पुनःस्थापना हुने विश्वास व्यक्त गर्दै न्यायालयप्रति आशा र विश्वास भएको बताएका थिए । लोकतन्त्रको सिद्धान्तमाथि पटकपटक आक्रमण भइरहेको चर्चा गर्दै उनले नेताहरुको महत्वाकांक्षाका कारण संसद् भङ्ग हुने गरेको इतिहास रहेको दाबी गरेका थिए ।
प्रतिक्रिया