NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ६ गते

युद्धका लागि प्रचण्डलाई लेखराजले नै दिएका थिए पहिलो पिस्तोल : यस्तो छ प्रचण्ड–भट्ट सम्बन्धको नालिबेली

काठमाडौं । महाकाली नदी किनारको भारतीय भूमि खजुरियामा ०३३ सालमा नक्सलवादी आन्दोलनमा आवद्ध लडाकुबाट भट्टले सैन्य तालिम लिएका थिए । रातो झण्डा समूहमा आवद्ध रहँदा त्यतिबेला भट्टले नक्सलवादीहरूबाट फौजी तालिम लिन भ्याएका थिए । तिनै नक्सलवादीहरूबाट प्राप्त गरेको इटालियन पिस्तोल नै ०४२ सालमा भट्टले सशस्त्र युद्धका निम्ति प्रचण्डका हातमा सुम्पिएका थिए । ‘केपी ओली दलाल हुन् । मैले हुर्काएको, पटक–पटक मन्त्री बनाएको एउटा मान्छे दलालको पनि दलाल भयो ।’ ‘प्रचण्ड’ – माधवकुमार नेपाल समूहको नेकपाको सुदूरपश्चिम प्रदेश कमिटीले १७ माघमा कैलालीको धनगढीमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो अभिव्यक्ति दिएका थिए । प्रचण्डले नाम उल्लेख नगरे पनि बुझ्न कठिन छैन्, उनले यी वाक्य पार्टी विभाजनपछि प्रधानमन्त्री ओली समूहमा आवद्ध लेखराज भट्टलाई भनेका हुन् । किनभने पूर्व माओवादीको सुदूरपश्चिमका स्थापित नेता भट्टको गृह जिल्ला कैलाली हो । भट्टको स्थायी बसोबास कैलालीको अत्तरियामा छ । प्रचण्डले भट्टलाई हुर्काएका, पटक–पटक मन्त्री बनाएकै हुन् त ? माओवादी आन्दोलनमा भट्टको कुनै योगदान छैन् ? प्रचण्डले च्यापेरै विगतमा उनलाई मन्त्री बनाएका हुन् ? ‘कैलालीको वीपी नगरमा भएको कार्यक्रममा अध्यक्ष प्रचण्डले पहिलो पटक हतियार उपलब्ध गराउने लेखराजजी नै हो भनेर भनिसक्नु भएको छ । त्यसपछि पनि उहाँले केही ठाँउमा यो भनाई दोहोर्‍याउनु भयो । पछिल्ला दिनमा भने इतिहासलाई तोडमोड गर्ने प्रयास भइरहेको छ,’ तत्कालीन नेकपा (माओवादी केन्द्र) को ७ नम्बर प्रदेश (हाल सुदूरपश्चिम) इन्चार्ज रहेका बेला १८ पुस ०७३ मा भट्टले यस प्रतिनिधिसँग भनेका थिए, ‘०४२ सालमा चितवनमा भएको अखिल नेपाल युवक संघको सम्मेलनमा माओवादीलाई पोइन्ट थर्टी एटको गोली लाग्ने इटालियन पिस्तोल उपलब्ध गराउने पहिलो व्यक्ति म नै हुँ । त्यसबेलासम्म माओवादी कसैले पनि आधुनिक हतियार चलाउन जान्नु त परै जाओस्, देखेका समेत थिएनन होला ।’ ‘प्रचण्ड र म त सहयोद्धा हौं : मेरा गुरु प्रेम कैदी, हुर्काउने–बढाउने मोहनविक्रम र मोहन वैद्य हुन्’ प्रधानमन्त्री केपी ओली नेतृत्वकाे सरकारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको जिम्मेवारीमा रहेका भट्टलाई आफूले हुर्काएको, पटक–पटक मन्त्री बनाएको दावी प्रचण्डको छ । तर, भट्ट यसको खण्डन गर्छन् । ०२८ सालदेखि आफू राजनीतिक आन्दोलनमा सहभागी भएको भट्ट बताउँछन् । त्यसबेला नेपाल–भारत सीमा (बोर्डर) लक्ष्मीपुर, खेदी र सितापुरमा घनिभुत आन्दोलन चलिरहेको थियो । त्यस आन्दोलनमा प्रेम कैदी, रामचन्द्र भट्ट, यज्ञराज भट्ट, डम्बरनाथ जोसी, जयराज भण्डारीसहितको समूह सहभागी थियो । त्यसमा भट्ट पनि संलग्न थिए । भण्डारी उनका छिमेकी पनि हुन् । डोटीमा उनीहरूको घर वल्लो–पल्लो थियो । उनै भण्डारीले आफूलाई काँधमा राखेर विद्यालय लगेका भट्ट सम्झिन्छन् । ०३६ सालमा उक्त टिम तत्कालीन चौथो महाधिवेशनमा प्रवेश गर्‍यो । त्यतिबेला तिनै भण्डारीले भट्टलाई मोहन विक्रम सिंहसँग सम्पर्क र चिनापर्ची गराए । ‘मोहन विक्रमले नै मलाई हुर्काए, बढाए । मलाई लाग्छ, मोहन विक्रमले नै प्रचण्डलाई पनि हुर्काएका हुन्, बढाएका हुन्,’ भट्ट भन्छन्, ‘त्यसपछि मलाई हुर्काउने, बढाउने मोहन वैद्य हुनुहुन्छ ।’ ‘प्रचण्ड र म सहयोद्धा हौं ।’ भट्ट थप्छन्, ‘उहाँ (प्रचण्ड) लाई लागेको होला, मैले सब थोक गरे । अरु कोही केही होइनन् भन्ने चिन्तन प्रचण्डमा छ ।’ ‘प्रचण्डले मलाई त हुर्काए, बढाए भन्नु भएछ, तर उहाँहरूलाई पनि मैले हुर्काए, बढाए भन्नु भएन । त्यो पनि भन्नु भएको भए राम्रो हुन्थ्यो । यथार्थ बोलेको ठहरिन्थ्यो,’ भट्टको थप कथन छ, ‘उहाँले सबैलाई बनाए भन्नुभयो । त्यो त राम्रो हो । तर, अहिले प्रचण्डसँग उहा“ले बनाएका कोही छैनन् । किन छैनन् ? त्यो पाटोबाट अध्ययन गर्न सुझाव छ ।’ भट्ट आफ्नो राजनीतिक गुरु भने प्रेम कैदीलाई मान्छन् । ‘प्रचण्डले पहिलोपटक बोकेको हतियार मैले नै दिएको हो’ भट्टकै शब्दमा ०३३ सालमा महाकाली नदी किनारको भारतीय भूमि खजुरियामा त्यहाँको नक्सलवादी आन्दोलनमा आवद्ध लडाकुहरूबाट उनले सैन्य तालिम लिएका थिए । जुन भूमि अहिले महाकाली नदीले बगाएर बगरमा परिणत छ । त्यसबेला नेपालसँग सीमा जोडिएको भारतको पश्चिम बंगाल राज्यमा नक्सलवादीले ठूलो सशस्त्र विद्रोह गरिरहेको थियो । रातो झण्डा समूहमा आवद्ध हुँदा त्यतिबेला भट्टले नक्सलवादीहरूबाट फौजी तालिम लिन भ्याएका थिए । नक्सलवादीहरूबाट प्राप्त गरेको इटालियन पिस्तोल नै भट्टले सशस्त्र युद्धका निम्ति प्रचण्डका हातमा सुम्पिएका थिए । नेपालवाचसँगको संवादमा भट्ट कहन्छन्, ‘हामीले २०३३/३४ मै भारतका नक्सलवादीहरूबाट हातहतियारहरू ल्याएका थियौं । २०४१/४२ तिर प्रचण्डले तपाईंसँग भएको पेस्तोल पठाइदिनुपर्‍यो भन्नु भयो । मैले पठाइदिएँ । यो कुरा उहाँले स्वीकार गर्नु भएको पनि छ । हाम्रो पार्टी संगठनमा पहिलो पटक हतियार मबाटै गएको हो । त्यसअघि प्रचण्डले सेना/पुलिसको हातमा देखेका थिए होलान् । तर, उनी आफैंले प्रत्यक्ष बोकेको चाँहि मैले दिएको हतियार हो ।’ प्रचण्डलाई मोटरसाइकलमा बोकेको तस्विरको बिम्ब २ असार ०६३ मा तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलाले प्रचण्ड र बाबुराम भट्टराईलाई कास्कीको सिक्लेस पुगेर हेलिकोप्टरमा बालुवाटार भित्र्याएका थिए । त्यसको दुई दिन पछि ४ असार मा सिटौलाले उनीहरूलाई हेलिकोप्टरमै डोटीको बिपी नगर पुर्‍याइदिए । त्यहाँ प्रचण्ड–बाबुरामलाई स्वागत गर्न कमरेड राकेश अर्थात भट्ट पर्खिरहेका थिए । त्यसबेला भट्ट माओवादीले भदौ ०५८ मा गठन गरेको सेती–महाकाली स्वायत्त प्रदेश प्रमुखको जिम्मेवारीमा थिए । डोटीको वीपी नगरमा माओवादीले नेता/कार्यकर्तालाई राजनीतिक प्रशिक्षण राखेको थियो । यो प्रशिक्षण सकेपछि आफ्नो मोटरसाइकलमा राखेर भट्टले प्रचण्डलाई कैलालीको अत्तरियास्थित आफ्नो घरमा ल्याएर राखेका थिए । भट्टले प्रचण्डलाई मोटरसाइकलमा बोकेको तस्विर त्यसबेला पत्रकार भोजराज भाटले खिच्न भ्याएका थिए । त्यो फोटोले त्यसबेला निकै ठूलो चर्चा पाएको थियो । अहिले प्रचण्डले भट्टलाई दलालको उपमा दिएपछि त्यो फोटो सामाजिक सञ्जालमा पुनः ‘भाइरल’ भएको छ । जातीय राज्यदेखि बुहारीलाई मन्त्री बनाउनेसम्मको प्रचण्डको आग्रहका कारण विमति युद्धरत् माओवादीले भदौ ०५८ मा स्वायत्त प्रदेशको घोषणा गर्दा जातीय राज्य बनाउनु हुन्न भनेर आफूले अडान लिएको र प्रचण्ड–बाबुरामसँग विमति भएको भट्ट बताउँछन् । जातीय राज्यले मुलुक विखण्डन गर्ने भन्दै यस विषयमा लामो समय बहस पैरवी भएको थियो । यद्यपि प्रचण्डसँग भट्टको देखिने गरी भएको विमति ०७४ को निर्वाचन परिणामपछि देखिएको हो । यस निर्वाचनमा भट्टले तत्कालीन सात नं. प्रदेशको कमाण्ड सम्हालेका थिए । उनी स्वयं कैलालीबाट निर्वाचित भए । प्रचण्डकी बुहारी बिना मगर कञ्चनपुरबाट निर्वाचित भइन् । जो एउटै प्रदेशमा पर्छ । निर्वाचनमा हेलिँदै गर्दा ३ मंसिर ०७४ मा प्रचण्डका एकमात्र पुत्र प्रकाश दाहालको आकस्मिक निधन भएको थियो । निर्वाचन परिणाम आइसकेपछि भट्ट काठमाडौं आएर प्रचण्ड निवास खुमलटार पुगे । जानकारका अनुसार यस भेटमा प्रचण्डले ७ नं. प्रदेशबाट बुहारी बिना मगरलाई मन्त्रीका लागि प्रस्ताव गरिदिन भट्टसमक्ष आग्रह गरे । ७ नं. प्रदेशबाट आफ्नो टिमलाई निर्वाचन जिताएर ल्याएकोमा बधाई देलान् भन्ने सोंचेका भट्टले सुरुमै बुहारी बिनालाई मन्त्री प्रस्ताव गरिदिन आग्रह गरेपछि चित्त दुखाएका बताउँछन्र, उनी निकटहरू । प्रचण्डको यो आग्रहपछि उनले तत्कालै झोलाबाट ‘लेटर प्याड’ निकालेर बिनालाई ७ नं. प्रदेशबाट मन्त्रीका लागि सिफारिस गरेका थिए । यो कुरा मन्त्री भट्ट पनि स्वीकार गर्छन । यद्यपि त्यही कारणले सम्वन्ध बिग्रिएको भन्नेचाहिँ उनी स्वीकार गर्दैनन । ‘श्रीमती बिरामी, छोरो भर्खर बितेको अवस्थामा मेरो परिवार अप्ठेरोमा छ । तपाईंले प्रस्ताव राख्दिनुस् भनेपछि मैले सहजै त्यो काम गरेको हो,’ उनी भन्छन्, ‘त्यसमा मेरो सम्बन्ध बिग्रनु पर्ने आवश्यकता थिएन । म चित्त बुझेन भने त्यो कुरा सोझै भन्ने मान्छे हो ।’ पार्टीभित्र पनि आफूलाई दबाइएको भट्टको गुनासो छ । भट्टका अनुसार ०४८ सालमा चितवनमा भएको एकता महाधिवेशनमा नै उनलाई केन्द्रीय सदस्य प्रस्ताव गरिएको थियो । त्यसवेला कृष्ण सेन इच्छुक र आफूले केन्द्रीय सदस्य हुन नमानेको भट्टको भनाइ छ । ‘सेनजी र मैले हामी हुँदैनौ भन्यौं । यसपछि २०५७ को दोस्रो राष्ट्रिय सम्मेलनबाट मलाई केन्द्रिय सदस्य बनाएको हो,’ भट्ट भन्छन्, ‘जबकी आन्दोलनमा मेरो निष्क्रियता कहिल्यै पनि रहेन ।’ केन्द्रीय समितिमा पनि २५/३० वर्ष पछिकालाई आफूभन्दा माथि ल्याएर राखिएको भट्टको दावी छ । पार्टीलाई जानकारी दिएर काठमाडौं उपत्यकामा घर माओवादी शान्ति प्रकृयामा आएपछि आफूले काठमाडौंमा घर किन्न लागेको जानकारी पार्टी नेतृत्वलाई दिएर खरिद गर्ने नेता भट्ट मात्र हुन् । पार्टी अध्यक्ष प्रचण्ड र तत्कालीन नेता दिवंगत पोष्टबहादुर बोगटीलाई जानकारी दिएर उनले ललितपुरको धापाखेलमा ०७० साल आसपासमा घर किनेका थिए । माओवादीका अधिकाशं नेता/कार्यकर्ताले काठमाडौंमा घर/घडेरी जोडेका छन् । तर, प्रायःले अरुकै नाममा राखेका छन् । यद्यपि जति लुकाउन खोज्छन्, त्यति छरपष्ट भइरहेको छ । यिनै भट्टलाई हालै प्रचण्डले दलाल करार गरिदिएका छन् । तर, पारिवारिक पृष्ठभूमि र सम्पन्नताको विरासत हेर्दा उनी प्रचण्डभन्दा माथिका हुन् । यसका लागि भट्टको व्यक्तिगत र पारिवारिक पृष्ठभूमि बुझ्नु जरुरी हुन्छ । यस्तो छ भट्टको पारिवारिक विरासत भट्टको पुख्र्यौली थलो डोटी हो । तर, उनी भने कैलालीको अत्तरियामा जन्मिएका हुन् । भट्टका पिता १९९४ सालदेखि कैलालीमा बस्न थालेका थिए । त्यसबेला उनी शक्ति भन्सारमा सुबेदार थिए । त्यसअघि डोटीमा पनि बैदार भएर काम गरेका थिए । भट्टका पिताले कैलालीको अत्तरियामा ०१८ सालमै ३० विगाह जग्गा किनेका थिए । उनका बुबा २००७ सालको जनक्रान्तिमा नेपाली कांग्रेसका कार्यकर्ता भएर डोटीको बडा हाकिमलाई हायलकायल पारेका थिए । यतिको सम्पन्न पारिवारिक विरासत भएका भट्टले ०२६ देखि ०३० सालसम्म काठमाडौंको बनस्थली विद्या आश्रममा पढे । त्यहाँ उनी पाँच कक्षामा भर्ना भएका थिए । नयाँ शिक्षा योजना लागू भएपछि त्यसको विरोधमा उनीलगायत वनस्थली विद्याश्रमका विद्यार्थीहरू उत्रिए । वनस्थली विद्याश्रममा कमलपोखरीको निजी सिद्धार्थ बोर्डिङ स्कुल गाभियो । र, त्यसको नाम सिद्धार्थ वनस्थली राखियो । जब कि त्यसबेला निजी विद्यालयहरुलाई राष्ट्रियकरण गरिएको थियो । भट्टलगायत विद्यार्थीहरुले कमलपोखरीको निजी विद्यालय गाभेर सिद्धार्थ वनस्थली नाम राखेकोमा पनि विरोध गरे । यही विरोध गरेका कारण भट्टलगायतका केही विद्यार्थीलाई जर्वजस्ती निष्कासन गरियो । सिद्धार्थ वनस्थलीले निष्कासन गरेपछि भट्टले कक्षा ९ र १० फर्पिङमा पढे । त्यहींबाट त्यतिबेलाको एसएससी पास गरे । युद्धले थङथिलो बनाएको परिवार : भाई र बुहारी सहिद, बहिनी ज्वाईंलाई यातना, घरमा बम तत्कालीन माओवादीका नेता आफूचाहिं सुरक्षित रहेर जनतालाई युद्धमा होमेको, सहिद बनाएको आरोप लाग्दै आएको छ । यो आरोप माओवादीका तत्कालीन नेतृत्व प्रचण्ड–बाबुराममाथि सबैभन्दा बढी लाग्ने गरेको छ । तर, भट्ट यसका अपवाद हुन् । युद्धमा लागेर उनले ठूलो पारिवारिक क्षति व्यहोरोका छन् । भट्ट पिताका तीन भाई छोराहरू हुन् । तीमध्ये लेखराज जेठो हुन् । तत्कालीन माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धमा भट्ट सुरुदेखि नै सक्रिय थिए । तर, त्यही जनयुद्धले उनको परिवारलाई भने क्षतविक्षत बनाइदियो । उनको माइलो भाइकी श्रीमती (भाइ बुहारी) जनयुद्धमै शहिद भइन । तत्कालीन शाही सेनाले खेतमा ट्रयाक्टरले किचेर उनको हत्या गरेको थियो । भट्टको कान्छो भाइ पनि जनयुद्धकै दौरानमा सहिद भएका हुन् । उनलाई सेनाले यातना दिएर थला पार्‍यो । उनले पानी मागे । पानी पिउने बहानामा नदी किनारमा लगेर त्यहीं सेनाले उनको हत्या गरेको भट्ट बताउँछन् । बहिनी ज्वाईंलाई यस्तै यातना दिइयो । उनलाई धनगढीको बोराडन ब्यारेकमा तीन महिनासम्म बोराभित्र राखेर सेनाले लगातार यातना दिएको भट्ट बताउँछन् । घटना ०५८ सालको हो । भट्ट ‘फिल्ड’ मै थिए । उनकी श्रीमती गर्भवती थिइन । उनलाई भारतको देहरादुनमा डेरामा राखिएको थियो । गर्भवती श्रीमतीलाई साथ दिन भट्ट जान पाएनन । समयमै अस्पताल पु¥याउन नसकिएकाले बच्चा सकुशल जन्मन सकेन । त्यसको चार दिनपछि मात्र भट्ट डेरामा पुग्न सके । यसबेलासम्म नहुनु क्षति भइसकेको थियो । त्यसपछि उनीहरूका सन्तान भएनन । अत्तरियास्थित भट्टको घरमा राष्ट्रिय बाणिज्य बैंक थियो । ०५९ तिर त्यस घरमा माओवादीले नै बम प्रहार गरे । उक्त बैंक अहिले पनि त्यहीं छ । ‘हामीले पार्टीसँग यो विषयमा कहिल्यै सिकायत गरेनौं,’ मन्त्री भट्ट भन्छन्, ‘देशको परिवर्तन, पार्टी र क्रान्तिका लागि भनेर हामीले कहिल्यै पार्टीबाट यो गर्नुपर्छ, उ गर्नुपर्छ भनेनौं ।’ पत्रकार भाट भन्छन् – प्रचण्डले सोह्रै आना गलत बोलेका हुन् आफूभन्दा सम्पन्न परिवारमा जन्मे हुर्केका, ५ कक्षा देखि नै काठमाडौंको वनस्थली र फर्पिङ स्कुलमा पढेका, ०३३ सालमै नक्सलवादीबाट फौजी तालिम लिएर जनयुद्धका लागि पहिलो हतियार उपलब्ध गराएका, युद्धमा लागेर ठूलो पारिवारीक क्षति व्यहोरेका भट्टलाई प्रचण्डले दलाल करार गरिदिएका छन् । भट्ट आफ्नो पछि लुरुलुरु नलागेकाले प्रचण्डले उनलाई ‘दलाल’ करार गरिदिएका हुन् भन्ने बुझ्न कठिन छैन् । लामो वैचारिक, राजनीतिक छलफल बिनै ओलीसँग लगेर पार्टी एकता गराउने भने प्रचण्ड नै हुन् । पत्रकार भोजराज भाटले प्रचण्ड र भट्ट दुवैलाई नजिकबाट नियालेका छन् । उनै भाटका शब्दमा प्रचण्डले भट्टलाई होइन, भट्टले प्रचण्डलाई हुर्काएका हुन् । प्रचण्ड भारतमा बस्दा समेत आफू र आफन्त मार्फत भट्टले डेरा खोजिदिने, आर्थिक सहयोग गर्ने गरेका थिए । भन्छन्, ‘प्रचण्डले धनगढीको सभामा भट्टमाथि सोह्रै आना गलत कुरा बोलेका हुन् ।’ भट्टसँग नेपालवाचले गरेको अन्तर्वार्ता भोलि (शुक्रबार) प्रकाशित हुँदैछ । फोटो क्रेडिट – पत्रकार भोजराज भाटको फेसबुक

ताजा अपडेट

नेपालवाच विशेष