NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ७ गते

संविधानको चिरहरण गर्नेका विरुद्ध बोल्न पाइन्छ : रामकुमारी झाँक्री

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले संविधानको चिरहरण गर्नेहरुका विरुद्ध बोल्न पाइने बताएकी छिन् । बुधबार नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव पक्षले काठमाडौँमा आयोजना गरेको विरोध सभामा बोल्दै नेतृ झाँक्रिले संविधानको चिरहण गर्नेहरुका विरुद्ध र सर्वसत्तावादको विरुद्ध बोल्न पाइने बताएकी हुन् । अहिलेको व्यवस्थामा संविधान र कानुनी राज्यको खिलापमा सेटिङ र बन्द कोठाभित्र भएका अध्यारा षडयन्त्रका विरुद्ध बोल्न पाइने उनको भनाई छ । नागरिकले बोल्न पाउने अधिकारलाई कसैले पनि कुण्ठित गर्न नसक्ने उनले बताइन् । नेतृ झाँक्रिले आफूले राष्ट्रपति संस्था शिर माथिको संस्था भएकोले राष्ट्रपति संस्था विरुद्ध बोल्ने दुस्साहस नगरेको स्पष्ट पारिन् । उनले प्रधानमन्त्रीको एउटा कोठाको एसिस्टेन्टजस्तै प्रधानमन्त्री अथवा मन्त्रिपरिषद्का निर्णयलाई खुसुक्क सहि छाप गरी निरंकुशताको साक्षि बस्छ भने त्यस्तो पात्रको विरुद्ध बोल्न पाईने उनको भनाई छ । उनले एउटा खलपात्रको विरुद्ध बोल्दै गर्दा महिला अस्मिताको प्रश्न नआउने बताइन् । नेतृ झाँक्रिले अहंकारी र सन्की प्रधानमन्त्रीको प्यादा बन्ने व्यक्तिका विरुद्ध बोल्दा महिला अस्मिताको प्रश्न नआउने बताइन् । उनले सर्वोच्च अदालतले कानुनसम्मत्, संविधानसम्मत् फैसला गर्नेमा विश्वास व्यक्त गरिन् । अदालतप्रतिको विश्वास डग्मगायो भने राज्यको शक्ति पृथकिकरणको सिद्धान्तको आधारमा बनेको संस्थाको औचित्य समाप्त हुने उनको भनाई छ ।