NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ७ गते

प्रचण्डको बिरोधसभामा आउने भन्छन्, ओलीको सभामा पनि आउँथे, खबर नै पाइनँ [भिडियोसहित]

https://youtu.be/k_f-qu-JT-Q काठमाडौँ – ५ पुसमा प्रतिनिधिसभा विघटन भएपछि त्यसको पक्ष र विपक्षमा काठमाडौँमा प्रदर्शन हुँदै आएको छ । विशेषगरी विघटनको प्रतिरोधमा उत्रिएको नेकपाको प्रचण्ड–नेपाल समूह र ओली समूह एक अर्का विरुद्ध शक्ति प्रदर्शन गरिरहेका छन्। ९ माघमा ओली विरुद्ध आन्दोलनमा रहेको प्रचण्ड–नेपाल पक्षले ‘विशाल विरोध सभा’ नाममा मान्छे भेला पारे । र केपी ओलीलाई प्रश्न गरे, ‘देख्यौँ जनता कसको पक्षमा रहेछ ?’ प्रधानमन्त्री केपी शर्मा ओली समूहले त्यसको प्रतिक्रिया फेरि अर्को त्यस्तै सभामार्फत दियो । २३ माघमा नारायणहिटीको अगाडि यसैगरी अर्को ‘विशाल सभा’ भयो । यसरी मान्छे भेला पारेर एक अर्का विरुद्ध शक्ति प्रदर्शनको अभ्यास जिल्ला जिल्लामा भइरहेको छ । यही मेसोमा ९ माघमा देशभरबाट कार्यकर्ता बटुलेर विरोधसभा गरेको प्रचण्ड–नेपाल समूहको नेकपाले २८ माघमा फेरि त्यसैगरी देशभरबाट कार्यकर्ता बटुल्यो। दुवै पक्षले ती मानिसहरूको अघि उभिएर आफ्नो पक्षमा जनमत रहेको दावी गरिरहेका छन् । तर, सहभागीहरुमध्ये कतिपयले आफूहरू काठमाडौँमा आयोजना हुने हरेक कार्यक्रममा सहभागी हुने गरेको बताएका छन्। बर्दिवासका शिवचरण यादव नेकपाका कार्यकर्ता होइनन् । तर, उनी २८ माघको विरोधसभामा नेकपाको कार्यकर्तासँगै झण्डा बोकेर भृकुटीमण्डपमा थिए। तीनै यादव यसअघि सिके राउतको नेतृत्वमा भएको सभामा पनि यसैगरी आएका थिए। उनले केपी शर्मा ओलीको नेतृत्वमा भएको सभामा पनि आउने रहर भएको तर थाहा नपाउँदा आउन नसकेको बताए । उनलाई नेताले जनतालाई प्रयोग गर्छन भन्ने राम्रो ज्ञान छ। त्यसैले उनी भन्छन्, ‘जुनसुकै पार्टी भए पनि के मतलव ? पार्टीले जनतालाई कहिले मतलव गर्ने भए पो, उनीहरूलाई मान्छे चाहिएको बेलामा बोलाउँछन् अघिपछि फर्केर हेर्ने पनि होइन ।’ जुनसुकै पार्टीको कार्यक्रम भए पनि भाषण सुन्न काठमाडौँ आइपुग्छन उनी । उनी यसअघि सिके राउत, केपी ओली लगायतको कार्यक्रममा पनि काठमाडौँ आएका थिए। ‘म त सबैको कार्यक्रममा आउँछु,’ उनले भने,‘अस्तीको केपी ओलीको कार्यक्रम बारेमा पछि मात्र थाहा पाएँ नत्र आउँथें ।’ ओखलढुंगाका राम कट्टेल कार्यक्रमको बारेमा आफूलाई केही थाहा नभएको बताउँछन् । आफन्तले बागबजार, पुतलीसडक क्षेत्रमा जुलुस छ जानुपर्छ भनेपछि आफू पनि आएको उनले बताए। ‘यो आन्दोलन र सभाको विषयमा त मलाई केही पनि थाहा छैन्,’ उनले भने, ‘मेरो एउटा दाई पार्टीको कार्यक्रमहरूमा गइरहनुहुन्छ, उहाँले नै फोन गरेर जानुपर्छ भन्नुभयो त्यसैले आएको । यो भीडमा कतातिर हुनुहुन्छ भेट चैँ भएको छैन्।’