प्रदेश न. २ मा निजामती कर्मचारीले ६० वर्ष पुगेपछि अनिवार्य अवकाश

काठमाडौं । प्रदेश न. २ सरकारले निजामती कर्मचारीको उमेर हद ६० वर्ष कायम गरेको छ । प्रदेशका प्रमुख तिलक परियारले बुधबार प्रमाणीकरण गरेको प्रदेश निजामती सेवा ऐन, २०७७ का अनुसार निजामती कर्मचारीले अनियार्व अवकाश लिने उमेर ६० कायम भएको हो । उक्त ऐनका अनुसार प्रदेश २ का निजामती कर्मचारीले ६० वर्ष पुगेपछि अवकाश लिन पाउनेछन् । उक्त ऐनअनुसार अनिवार्य अवकाश वा अन्य प्रयोजनका लागि प्रदेशका निजामती कर्मचारीले उनीहरुले पेस गरेको शिक्षण संस्थाको प्रमाणपत्रका आधारमा रहेको जन्म वा वर्षबाट हुन आउने उमेर वा नागरिकताको प्रमाणपत्रमा रहेको जन्म दिन वा वर्षबाट हुने उमेर वा कर्मचारीले व्यक्तिगत विवरणमा लेखेको जन्म दिन वा वर्षबाट आउने उमेरको आधारमा अवकाश लिन पाउनेछन् । ऐनमा उल्लेख भएअनुसार यीमध्ये जुन उमेरबाट पहिले अवकाश हुन्छ त्यहि आधारमा उमेर गणना गरिनेछ । उक्त ऐन प्रदेश २ को प्रदेश निजामती सेवामा अधिकृत बाह्रौं तहदेखि सहायक तेस्रो तहसम्म कार्यरत कर्मचारीलाई लागु हुने उल्लेख गरिएको छ । ऐनका अनुसार निवृत्तभरण पाउने अवस्था र उमेरको हद त्रिपन्न वर्ष पुरा भएमा कर्मचारीहरुले प्रदेश सरकारद्वारा प्रदेश राजपत्रमा प्रकाशित सूचनामा रहेको अवधिभित्र उल्लेखित शर्तकाअनुसार स्वेच्छिक अवकाश पनि लिन पाउनेछन् ।
प्रतिक्रिया