NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ७ गते

झाँक्रीलाई लागेको ‘राज्यविरुद्धको कसुर’ प्रमाणित भए यस्ताे हुन्छ सजाय

काठमाडौं । महानगरीय प्रहरी महाशाखा काठमाडौंले नेकपाको प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेको छ । केही दिनअघि गोरखामा आयोजित विरोध सभामा राष्ट्रपतिमाथि गरेका टिकाटिप्पणीलाई लिएर झाँक्रीलाई उनकै निवासबाट प्रहरीले पक्राउ गरेको हो । उनलाई ‘राज्यविरुद्धको कसुर’ गरेको आरोप लगाइएको छ । झाँक्रीलाई नेपालको मुलुकी अपराध संहिता २०७४ को दफा ५८ का अनुसार पक्राउ गरिएको प्रहरीले जनाएको छ । के छ दफा ५८ मा ? मुलुकी अपराध संहिताको दफा ५८मा उल्लेख गरिएको छ– ‘कसैले नेपालको राष्ट्रपति वा संसदलाई संविधान तथा कानून बमोजिम गर्नुपर्ने कार्य सम्पादन गर्नबाट रोक लगाउन वा वञ्चित गर्न वा कुनै खास तरिकाबाट कार्य सम्पादन गर्न बाध्य गराउन कुनै किसिमको बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन, डर वा क्रास देखाउन वा अन्य कुनै किसिमले दबाब दिन हुँदैन्।’ झाँक्रीले गोखरामा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीलाई लक्षित गर्दै भनेकी थिइन्, ‘म बडामहारानीलाई गोरखाबाटै सन्देश दिन चाहन्छु। निर्वाचनको तयारीका लागि सुख सुविधा छोडेर, कारगेड छोडेर, शीतल निवास छोडेर पहिला कोटेश्वरमा आउनुस्। चावहिल कि कोटेश्वर कतातिर बसाइ छ भन्ने सुन्याथेँ। होइन भने बालकोटै गए पनि हुन्छ।’ प्रहरीले यही भनाइलाई लिएर उनलाई पक्राउ गरेको छ। आरोप पुष्टि भएमा के हुन्छ सजायँ ? झाँक्रीमाथि लागेको आरोप पुष्टि भएमा उनलाई नेपालको मुलुकी अपराध संहिताको दफा ५८ को उपदफा २ बमोजिम कारवाही हुनेछ । उपदफा २ मा भनिएको छ– उपदफा १ बमोजिम कसूर गर्ने वा गराउने व्यक्तिलाई सात वर्षसम्म कैद वा सत्तरी हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजायँ हुनेछ।