NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ७ गते

विप्लवसहित चार दलद्वारा संयुक्त मोर्चाको घोषणा, वैकल्पिक संयुक्त सरकारको माग

काठमाडौं । विप्लव, मोहन वैद्यसहितका चार कम्युनिष्ट घटकले सरकार र संसदीय व्यवस्थाविरुद्ध संयुक्त मोर्चाको घोषणा गरेका छन् । नेकपा (क्रान्तिकारी माओवादी), नेकपा, नेपाल कम्युनिस्ट पार्टी र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले बिहीबार काठमाडौंमा संयुक्त बैठक गरेर सरकारविरुद्ध संघर्षका कार्यक्रमहरुको घोषणा गरेका हुन् । देशमा न्याय, शान्ति, स्थिरता, स्वाधिनता र समृद्धि दलाल तथा प्रतिक्रियावादी संसदीय व्यवस्थाबाट सम्भव नरहेको उनीहरुको निष्कर्ष छ । राजनीतिक प्रतिगमन र संकटको समाधान एक वा अर्को प्रकारको प्रतिक्रियावादी संसदीय व्यवस्थाभित्रैबाट सम्भव नरहेको उनीहरुको भनाई छ । समाधानको लागि राजनीतिक समीक्षा सभा, वैकल्पिक संयुक्त सरकार र जनगणतन्त्रवैज्ञानिक समाजवाद स्थापनाको राजनीतिक श्रृखला हुँदै अघि बढ्नुपर्ने उनीहरुको भनाई छ । पहिलो चरणको संघर्षका कार्यक्रम अन्तर्गत उनीहरुले २९ माघमा काठमाडौंमा मोर्चाको घोषणा सभा, ६ फागुनमा बुटवलमा, १४ फागुनमा धनगढी र १८ फागुनमा इटहरीमा जनसभा गर्ने घोषणा पनि गरेको छ ।