बलात्कार र हत्याको घटनाको अनुसन्धान तीव्र बनाउन कांग्रेसको माग

काठमाडौं । कांग्रेसले बलात्कार र हत्याका घटनाको अनुसन्धान प्रभावकारी रुपमा छिटो गर्न सरकारको ध्यानाकर्षण गराएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरी भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न दोषीलाई छिटो पक्रन माग गरेका हुन् । ‘बैतडी जिल्लाको दोगडाकेदारकी किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न दोषी घटनाको दोस्रो साता प्रवेश गर्दासम्म पक्राउ नपर्नु, उनको शव अस्पतालमा रहिरहनु र परिवारजनले पिडामाथि पीडा भोग्नुको स्थितिलाई नेपाली कांग्रेसले दुःखद र गम्भीर रूपमा लिएको छ’ विज्ञप्तिमा उल्लेख छ, ‘अतः अनुसन्धान तिब्र बनाउन, दोषी अविलम्ब पक्राउ गर्न, बैतडी घटनासंगै देशभरका सबै यस्ता घटना विरुद्ध राज्यको अस्तित्व प्रभावकारी बनाउन नेपाली कांग्रेस प्रधानमन्त्री समक्ष माग गर्दछ ।’ शान्ति र संविधानपछि नागरिकको जीवन सुरक्षित हुन्छ भन्ने नागरिक विश्वास खण्डित भएको कांग्रेसको भनाई छ । ‘शान्ति स्थापना र संविधान निर्माण पश्चात देशमा अमन चयन स्थापना हुनेछ र नागरिकको जीवन सुरक्षीत बन्नेछ भन्ने विश्वास वितेका बर्षहरुमा कारुणिक ढंगले खण्डित हुँदै आएको छ । अनेक प्रकृतिको हिंसासंगै बलात्कार र बलात्कारपछि हत्याको जघन्य अपराध केही बर्ष यता डरलाग्दो ढंगले बढ्नु गम्भीर चिन्ताको बिषय बनेको छ’ विज्ञप्तिमा भनिएको छ, ‘‘विकसित मुलुकमा पनि यस्तै हुन्छ’ भन्ने जिम्मेवार तहको गैह्र जिम्मेवार जवाफले वर्तमान सरकारको उदासिनता प्रकट गरेको छ भने अपराधको मानसिकता निरुत्साहित गर्न कानूनी चेतावनीको भाषालाई कमजोर समेत बनाएको छ । निर्मला पन्त प्रकरणका दोषी अझै कहिँ खुला घुमिरहेका छन् भने भागरथी र अरु धेरै छोरीको अपराधमा संलग्नहरु कानूनको कठघराभन्दा बाहिरै छन् ।’ महिला उपर हिंसा र बलात्कार अनि हत्याका जघन्य अपराध बढेर जाँदा राज्यले विशेष नीति अख्तियार गर्न र प्रशासन संयन्त्रलाई थप तदारुक बनाउन सरकारसमक्ष माग गर्दै कांग्रेसले यस्ता घटना विरुद्ध सिंगो समाजको सजग हुनुपर्ने बताएको छ । यस क्रममा बैतडी घटनाको स्थलगत अध्ययन गरी लिखित प्रतिवेदन पेश गर्न एवं स्थानीयवासी र परिवारजनसंग भेट गर्न नेपाली कांग्रेस केन्द्रीय समितिको प्रतिनिधिका रूपमा केन्द्रीय सदस्य रमेश लेखक शुक्रबर साँझ बैतडी पुगेको कांग्रेसले जनाएको छ ।
प्रतिक्रिया