दीर्घ जीवनबारे अध्ययन गर्न शरीर दान गरें : सत्यमोहन जोशी

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशी र उनकी धर्मपत्नी राधादेवी जोशीले आफ्नो मरणोपरान्त शरीर चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि दान गर्ने घोषणा गरेका छन् । शुक्रबार आयोजित एक कार्यक्रमका बीच जोशी दम्पतीले आफ्नो शरीरको शेषपछि चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि किष्ट मेडिकल कलेजलाई अर्पण गर्ने जानकारी दिए । शताब्दी पुरुष सत्यमोहन जोशी र उहाँकी धर्मपत्नी राधादेवी जोशीले किष्ट मेडिकल कलेजलाई लेखिएको शरिर दान गर्ने मञ्जुरी पत्रमा हस्ताक्षर गरेका छन् । उनीहरुले आफ्नो छोरा अनुराज जोशीसमेतको सहमतिमा हस्ताक्षर गरेका हुन् । शताब्दी पुरुष जोशीले आफ्नो शरीरको लामो आयु कसरी भयो भनेर अध्ययन गर्न काम लागोस् भनेर स्वेच्छाले दान दिएको बताए । घोषणा कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले शताब्दी पुरुष जोशीले शरीर दान दिन गरेर माइलस्टोन कोरेको बताए । उनले आफ्नो जीवनमा अनेकौँ इतिहास रचेकोले सबैको गौरव, प्रेरणा र आदर्श रहेको बताए । महर्जनले ललितपुर महानगरपालिकाले राष्ट्रमा योगदान पुर्याउने राष्ट्रसेवकलाई सम्मान गर्दै आएको बताए । शताब्दी पुरुष सत्यमोहन जोशीलाई पनि महानगरपालिकाले सम्मान गरेको उनको भनाई छ ।
प्रतिक्रिया