सत्ताको निर्णायक जसपाको ‘बालुवाटार दौड’, तर भट्टराईको जिकिर- जसपा त्यो मुसादौडमा छैन

नेकपा एमाले र माओवादी केन्द्र ब्यूँतिएसँगै केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ। यद्यपि, माओवादी केन्द्रले समर्थन फिर्ता लिइनसकेकाले सरकारलाई तत्काल कानुनी अड्चन छैन। यो अवस्थामा नयाँ सरकार वा ओली नेतृत्वकै सरकारमा अन्य दललाई सहभागी गराउन तिगडम भइरहेको छ। यो अवस्थामा सत्ताका लागि जनता समाजवादी पार्टी निर्णायक देखिएको छ, यदि जसपाले एमालेलाई सरकार बनाउन साथ दिएमा कांग्रेस र माओवादी केन्द्र प्रतिपक्षी हुनेछन्। तर, जसपाले त्यसका लागि सर्तहरू राखेको छ। निलम्बित सांसद रेशम चौधरीलगायतका नेता तथा कार्यकर्तालाई रिहा तथा मुद्दा लगायत। यो विषयमा बिहीबार साँझ जसपाका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भेट गरेका छन्। यो भेटमा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई सहभागी थिएनन्। भेटमा ओलीले जसपाले उठाउँदै आएका माग सम्बोधन गर्न सकारात्मक बनेको बताएका छन्। जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले माग सम्बोधन भए ओली नेतृत्वकै सरकारलाई साथ दिने गरी छलफल अघि बढाएका हुन्। टुंगो लगाउन शुक्रबार कार्यदल बैठक पनि बस्दैछ। तर, भट्टराईले बिहीबार राति ट्वीव गर्दै ‘जसपा त्यो (सत्तादौड) मुसादौडमा नरहेको जिकिर गरे। जसपा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष भट्टराई पक्ष प्रधानमन्त्री ओलीको बहिर्गमनलाई नै मुख्य राजनीतिक मुद्दा बनाउँदै आएका छन्। उनीहरू ओलीको विकल्पमा तीन दलीय गठबन्धनको सरकार बनाउन लवइङि गरिरहेका छन्। यादव र भट्टराई पक्ष यो विषयमा सकारात्मक नभए पनि राजपा नै सत्तादौडमा नरहेको उनको दाबी मेल खाँदैन। भट्टराईले देश गम्भीर संकटमा फसेका बेला राजनीतिक दल र नेताहरूको भूमिका अपेक्षित स्तरको नभएको बताएका छन्। ‘अदालतको कृपाले अलिअलि लाज बचेको बेला पुनः उही म्युजीकल चेयरको खेलमा लाग्नुसट्टा समस्याका संरचनात्मक कारण खोतल्ने,आफ्नो आत्मसमीक्षा गर्ने र अग्रगामी निकास दिने पो हो त। जसपा त्यो मुसादौडमा छैन है,’ उनकाे भनाइ छ।
प्रतिक्रिया