जसपा संसदीय दलको बैठक बस्दै, यस्ता छन् एजेन्डा

जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको बैठक शुक्रबार दिउँसो १ बजे बस्दैछ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने बैठकका दुईवटा एजेन्डा तय भएका छन्। पहिलो, संसदीय दलको विधान पारित गरेर संसदीय दलको नेता चयन गर्ने । दोस्रो, सरकारसँगको वार्ता मूर्तरुप दिने। तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र समाजवादी पार्टी नेपालबीच एकीकरण पश्चात नयाँ दल गठन भएकामा संसदीय दलको नेता चयन गरिएको थिएन। सरकारमा जान मधेस र थरुहट आन्दोलनका मुद्दालाई बटमलाईन बनाएको जसपाले रणनीति तय गर्ने छ जसपाका नेताहरुले बिहीबार मात्र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए नेकपा एमाले र माओवादी केन्द्र ब्यूँतिएसँगै केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ। यद्यपि, माओवादी केन्द्रले समर्थन फिर्ता लिइनसकेकाले सरकारलाई तत्काल कानुनी अड्चन छैन। यो अवस्थामा नयाँ सरकार वा ओली नेतृत्वकै सरकारमा अन्य दललाई सहभागी गराउन तिगडम भइरहेको छ। यो अवस्थामा सत्ताका लागि जनता समाजवादी पार्टी निर्णायक देखिएको छ, यदि जसपाले एमालेलाई सरकार बनाउन साथ दिएमा कांग्रेस र माओवादी केन्द्र प्रतिपक्षी हुनेछन्। जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले माग सम्बोधन भए ओली नेतृत्वकै सरकारलाई साथ दिने गरी छलफल अघि बढाएका हुन्। टुंगो लगाउन शुक्रबार कार्यदल बैठक पनि बस्दैछ। जसपा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्ष प्रधानमन्त्री ओलीको बहिर्गमनलाई नै मुख्य राजनीतिक मुद्दा बनाउँदै आएका छन्। उनीहरू ओलीको विकल्पमा तीन दलीय गठबन्धनको सरकार बनाउन लवइङि गरिरहेका छन्। यादव र भट्टराई पक्ष यो विषयमा सकारात्मक नभए पनि राजपा नै सत्तादौडमा नरहेको उनको दाबी मेल खाँदैन। भट्टराईले देश गम्भीर संकटमा फसेका बेला राजनीतिक दल र नेताहरूको भूमिका अपेक्षित स्तरको नभएको बताएका छन्। संसदमा चौथो ठूलो दल रहेको जसपामा ३४ मध्ये अहिले ३२ सांसद छन्। दुई सांसद निलम्बनमा छन्।
प्रतिक्रिया