NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १७ गते

सत्ता समीकरणमा निर्णायक बनेपछि दौडधूपमा जसपा, कांग्रेससँग आज वार्ता हुँदै

काठमाडौं । नयाँ सत्ता समीकरणबारे कांग्रेस र जनता समाजवादी पार्टीबीच आज वार्ता हुँदैछ । सर्वोच्च अदालतले पूर्व एमाले र माओवादी ब्युँत्याइदिएपछि हुन सक्ने सम्भावित सत्ता समीकरणबारे जसपाले एमालेपछि आज कांग्रेससँग छलफल गर्न लागेको हो । जसपासँग छलफल अघि कांग्रेसले ३ बजेलाई पदाधिकारी बैठक बोलाएको जानकारी कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले दिए । ‘विकसित राजनीतिक घटनाक्रमको बारेमा छलफल गर्न आज जसपाका नेताहरु कांग्रेससँग छलफल गर्न आउँदै हुनुहुन्छ’ महामन्त्री खड्काले भने, ‘त्यसअघि कांग्रेसको पदाधिकारी बैठक बस्छ ।’ प्रतिनिधिसभामा एमालेको १२१ सिट छ । तर, बहुमत जुटाउन उसलाई १८ सिट बढी आवश्यक छ । सर्वोच्चको आदेशपछि माओवादीले अब सरकारलाई दिएको समर्थन फिर्ता लिए प्रधानमन्त्री ओलीलाई जसपा वा कांग्रेसले साथ दिनुपर्छ । दोस्रो ठूलो सके आफ्नै नेतृत्वमा सरकार गठन गर्ने नसके एमालेलाई कुनै हालतमा सहयोग नगर्ने तयारीमा छ । यस्तोमा प्रधानमन्त्रीमा टिकिराख्न ओलीलाई जसपाका ३४ सांसदको समर्थन आवश्यक देखिन्छ । आफनो दल सत्ता समीकरणमा निर्णायक देखिएपछि जसपा वार्ता टोली बनाएर राजनीतिक दलसँग संवादमा जुटेको हो । यस अघि जसपाले माओवादी अध्यक्ष प्रचण्डसँग पनि छलफल गरिसकेका छन् । ओलीले बिहीबार जसपाका नेतासँग वार्ता गरेका थिए । तर, जसपाका नेताहरुले रेशम चौधरीको रिहाई, संविधान संसोधनमा आफूहरुको चासो पूरा गरे समर्थन गर्न सकिने बताएका थिए । तर, अन्तिम निर्णय गरिसकेका छैनन् । आफ्ना मुद्दामा लचिलो हुने पक्षसँग मिलेर जाने तयारी उनीहरुको छ । तर, प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्रीको कदमलाई प्रतिगामी भनेर आन्दोलनमा उत्रिएको जसपा उनको विषयमा दुई धारमा छ । महन्थ ठाकुर, राजेन्द्र महतो सकारात्मक भए पनि डा. बाबुराम भट्टराई, उपेन्द्र यादव र अशोक राईसहितका नेता ओलीसँग कुनै हालतमा सत्ता गठबन्धन गर्न नहुने पक्षमा छन् ।