NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १७ गते

पक्राउ गरिएका खुवालुङ संरक्षणका अभियन्तालाई तत्काल रिहा गर्न माग

काठमाडौं । खुवालुङ संरक्षण क्षेत्र समिति र किरात राई विद्यार्थी संघले प्रहरीले पक्राउ गरेका खुवालुङ संरक्षण अभियानका अभियन्ता दिनेश काम्दुङ खुम्बु र साजन राईलाई तत्काल रिहा गर्न माग गरेको छ । दुई अभियन्तालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले सप्तकोशीमा बोट सञ्चालन गरिरहेकाहरुले दिएको उजुरीको आधारमा पक्राउ गरेको थियो । दुवैलाई फागुन २७ गते पक्राउ गरिएको थियो । खुवालुङ संरक्षण समितिकी सचिव दिला राइले बिहीबार विज्ञप्ती जारी गर्दै दिनेश र साजनलाई बिना शर्त २४ घण्टाभित्र रिहा गर्न अल्टिमेटम दिएकी थिइन् । यता खुवालुङ संरक्षणका अभियन्ता र अन्य संघसस्थाहरुले पनि अभियन्तालाई तत्काल रिहा नगरेमा आन्दोलनमा जाने चेतावनी दिएका छन् । समितिले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘दिनेश काम्दुङ राई (खम्बु) र अभियान्ता साजन राईलाई छलफल गर्न भनी इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीमा बोलाइ माथिको आदेश भन्दै छलफल गराउनुको सट्टा हिरासतमा राखी मुद्दाको प्रक्रिया अघि बढाएकोप्रति खुवालुङ क्षेत्र संरक्षण समितिको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त विषयलाई सहज समाधान गर्नुको सट्टा विषयान्तर गरी सुनियोजित रुपमा षडयन्त्रमूलक ढंगबाट अभियानकर्मीहरूलाई राज्य प्रशासनले विभेदपूर्ण ढंगबाट पक्राउ गरिएको यस घटना हामी सम्पूर्ण सरोकारवाला पक्षका लागि कुनै पनि हिसाबले स्वीकार्य छैन । यस किसिमको रबैयाप्रति खेद् व्यक्त गर्दछौं ।’ किराँत सभ्यता र मुन्दुमका मिथहरुसँग जोडिएको खुवालुङको विषयमा प्रधानमन्त्ती केपी शर्मा ओलीले गत फागुन ८ मा विवादास्पद टिप्पणी गरेका थिए । उनले आमसभामा सम्बोधन गर्दै खुवालुङ फुटाएर जेटबोट चलाउने उद्घोष गरेका थिए । किरातहरुको सांस्कृतिक र मिथसँग सम्बन्ध भएको खुवालुङ फुटाउने प्रधानमन्त्रीको भिनाइसँगै किरात समूदायहरु आन्दोलित भएका हुन् ।