क्रान्ति गर्छु भनेको हो, हिंसामा जान्छु भनेको होइनः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले क्रान्तिमा जान्छु भने पनि हिंसामा जान्छु चाहिँ नभनेको बताएका छन् । बुटवलमा दलित पत्रकार महासंघको प्रथम अधिवेशनलाई सम्बोधन गर्नेक्रममा लडेर प्राप्त भएका उपलब्धमाथि कसैले परास्त गर्न खोजे क्रान्तिमा जाने बतौ । ‘प्राप्त उपलब्ध रक्षाका लागि फेरि क्रान्ति गर्छु भनेको हो, हिंसात्मक युद्धमा जान्छु भनेको होइन’, उनले भने । परिवर्तन उल्ट्याउन खोजिएको भन्दै त्यसलाई परास्त गर्न क्रान्ति गर्नुपर्ने उनले बताए । देशमा प्रतिगामी सलबलाएको र देशलाई अनिष्टमा धकेल्न प्रयत्न भएको प्रचण्डको भनाइ छ। ‘शान्तिप्रक्रियाको एक हस्ताक्षरकर्ता ममाथि चारैतिरबाट प्रहार भएको छ । तर, संविधानको रक्षा र प्राप्त उपलब्धि जोगाउन गणतन्त्र विरोधीलाई पररास्त गर्नुपर्छ’, उनले भने । उनले आफूहरुले लडेर स्थापित गरेका मान्यताहरुलाई कसैले भत्काउन खोजे चुप लागेर चाहिँ नबस्ने चेतावनी दिए । ‘फेरि विद्रोह गर्नुपर्ने, फेरि हिंसामा जानुपर्ने कुरा गरेको होइन । कोहीकसैलाई भ्रम नपरोस्,’ उनले भने, ‘हामीले लडेर स्थापित गरेका मान्यताहरु, प्रणालीहरुलाई कुनै प्रतिक्रियावादी तत्वहरुले कुल्चिन नपाओस् भनेर शान्तिपूर्ण ढंगले एउटा क्रान्ति गर्नुपर्छ भनेर भनेको हुँ ।’
प्रतिक्रिया