NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १७ गते

कान्छो धौलागिरीमा नौ देशका झण्डा

‘कान्छो धौलागिरी’ दारेगौँडा पहाडमा नौ देशका राष्ट्रिय झण्डा फहराइएको छ । बागलुङ, काठेखोला गाउँपालिका–२ भीमापोखरा, डोहेरी गाउँ नजीकैको सो पहाडमा पुग्ने स्वदेशी तथा विदेशीलाई आफ्नोपनको महसुस गराउने उद्देश्यले सार्कमुलुकसहित नौ देशका झण्डा फहराइएको हो । प्रचारप्रसार र पूर्वाधार निर्माणका लागि स्थानीय युवाले समूह बनाएका छन् । युवाको सक्रियतामा पुष्पाञ्जली ग्रामीण विकास केन्द्र स्थापना भएको छ । आन्तरिक र बाह्य पर्यटक आकर्षण गर्नका लागि राष्ट्रिय झण्डा फहराइएको केन्द्रका अध्यक्ष विक्रम शर्माले बताए । झण्डोत्तलनपछि अब सो क्षेत्र आन्तरिक र बाह्य पर्यटकका लागि थप आकर्षणमा पर्नेछ । केन्द्रका निवर्तमान अध्यक्ष प्रेम केसीका अनुसार हिमालका आँगनमा बसेर मकै, भटमास खानेलाई सो ठाउँ स्वर्ग जस्तो लाग्छ । पहाड नजिकै सानो सुन्दर बस्ती छ । त्यही सुन्दर बस्तीमाथि सेताम्य हिमशृङ्खला हेर्न सकिने मनमोहक डाँडा दारेगौंडा छ । बुढापाकाले बस्ती धान्न प्रयोग गरेको सो डाँडा समुद्री सतहदेखि करीब दुई हजार ५०० मिटर अग्लाइमा छ । कान्छो धौलागिरिबाट दन्तलहरमा देखिने हिमाल हेर्न आउने युवाको चाप पनि बढ्दैछ । उच्च भागमा रहेको समथर भाग आफैंमा सुन्दर त छ नै, त्यसमाथि त्यहाँबाट देखिने करीब ११ जिल्लाका भूभाग अनि साविक धौलागिरिका तीन जिल्ला सदरमुकाम बागलुङ, बेनी र कुश्मा बजारको मनमोहक दृष्य देखिन्छ । आँखै अगाडि देखिने धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्र, मानापाथीलगायत दर्जन हिमशृङ्खलाको त्यहाँबाट सजिलै अवलोकन गर्ने सकिन्छ । त्यहाँ पुग्ने प्रकृतिप्रेमी जो कोहीलाई पनि पहाडले तान्छ । हिम पहाडका लागि अत्युत्तम स्थान भएकाले नै दारेगौंडालाई अहिलेका युवाले कान्छो धौलागिरिको उपमा दिएका हुन् । रासस