मंगल ग्रहमा देखियो १८ सय किलोमिटर लामो बादल !

मंगल ग्रहमा जीवनको प्रमाण खोज्ने अभियानका क्रममा एक विचित्र प्रकारको लामो सेतो बादल देखिएको छ । यो बादल पछिल्लो केही वर्षदेखि देखिँदै आएको छ । अहिले वैज्ञानिकले उक्त बादलको रहस्य सुल्झाएका छन् । जसमा भारतको मंगलयानको भूमिका निकै महत्वपूर्ण रहेको बताइएको छ । यो बादलको उत्पत्ति सौर्य मण्डलको सबैभन्दा अग्लो ज्वालामुखी पहाडको आसपास हुन्छ । यसलाई वैज्ञानिकले निकै रहस्यमयी मानेका थिए । यसअघि कैयौंपटक देखिए पनि यसको रहस्यबारे पत्ता लगाउन सकिएको थिएन । सौर्य मण्डलकै सबैभन्दा ठूलो ज्वालामुखी मंगल ग्रहमै छ । यसको नाम अलम्पस मन्स हो । मंगल ग्रहको दक्षिणी क्षेत्रमा अवस्थित छ । ज्यालामुखीको माथि हरेक वर्ष सेतो बादलको लामो पुच्छर देखिन्छ । ओलम्पस मन्सको माथि तैरिने यो बादल हरदिन ८० पटक बन्ने र बिग्रने गर्दछ । पछिल्लोपटक देखिएको बादलको लम्बाई करिब एक हजार ८ सय किलोमिटर लामो र एकसय ५० किलोमिटर चौडा थियो । वैज्ञानिक यो बादललाई अर्सिया मन्स एलान्गेटेड बताउँछन् । यूरोपियन स्पेस एजेन्सीको मार्स एक्सप्रेस अर्बिटरले यो बादलको तस्वीर लिएको हो । साथै एमइओमा भिजुअल मोनिटरिङ क्यामेरा छ । जसले यो बादलको भिडियो पनि क्याप्चर गरेको यूरोपियन स्पेस एजेन्सीले बताएको छ । यूरोपियन स्पेस एजेन्सी र नासाका वैज्ञानिकले यो सेतो बादलको अध्ययन गरेका छन् । अध्ययनबाट उनीहरुले उक्त बादल सूर्य उदाउनु अघि बनेको पत्ता लगाएका छन् । करिब ढाई घण्टासम्म मंगल ग्रहको सतहमा देखिएको थियो । निकै सुन्दर देखिने यो बादल ६ सय किलोमिटर प्रतिघण्टाको रफ्तारले शीरदेखि पुछारतर्फ बहिरहेको छ । त्यसपछि आफ्नो उत्पत्ति भएको ठाउँबाट अलग भएर सूर्यको प्रकाश आउनेबेलासम्म गायब भएको थियो । रातो ग्रहमा बनेको अर्सिया मन्स एलन्गेटेड क्लाउडलाई ओरोग्राफिक बादल पनि भनिन्छ । यो सतहमा दक्षिण दिशादेखि उत्तरतर्फ बहन्छ । पृथ्वीमा पनि कैयौंपटक यस्तो बादल बन्ने गरेको तर पृथ्वीमा लम्बाइ भने यति धेरै नहुने वैज्ञानिकले बताएका छन् । यो बादलको अध्ययनका लागि पाँच स्याटलाइटको प्रयोग गरिएको थियो । जसमा भारतको मंगलयान पनि सामिल छ । बाँकी चार मिसन नासाका हुन् । मंगलयानबाट प्राप्त तस्बिर अध्ययन गर्दा बादल र उसको उत्पत्ति स्थानबारे पत्ता लागेको थियो । एजेन्सी
प्रतिक्रिया