NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १७ गते

सत्ता समीकरणमा जसपा निर्णायक भएपछि देउवाको अर्कै चाल

काठमाडौं । अदालतबाट एमाले र माओवादी नब्युँतिदासम्म प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवालाई केपी ओली र प्रचण्ड दुवैले प्रधानमन्त्रीको अफर गरेका थिए । दुवै नेताका नजरमा देउवा निर्णायक शक्ति देखिएका थिए । तर, २३ माघमा उथलपुथलको शैलीमा सर्वोच्च अदालतले नेकपा दलको आधिकारिकता ऋषि कट्टेललाई दिंदै एमाले र माओवादी ब्युँत्याइदिएपछि भने कोर्ष नै अलग हुन पुग्यो । अदालतको निर्णयपछि माओवादीतिर रहेका पूर्व एमालेका नेताहरु माधव नेपाल, झलनाथ खनालहरु पुरानै घर फर्किएपछि सत्तासमीकरणको सन्दर्भ नै फेरियो । यस्तोमा प्रतिनिधिसभामा १२१ सिट भएको एमालेलाई १३८ बनाएर बहुमत पुर्याउन अब संसदको चौथो ठूलो दल जसपा नै काफी हुने भएपछि समीकरणको अवस्था नै फेरिएको हो । यसैले जसपालाई आफ्नो सत्ता टिकाउन र सत्ताको सारथी बनाउन प्रधानमन्त्री ओलीले सबै राजनीतिक प्रयास गरी पटकपटक वार्ता गरिसकेका छन् । सत्ताको निर्णायक खेलमा आफ्नो ठाउँमा राजपाको प्रवेश भएपछि कांग्रेस भने दोधारमा देखिएको छ । तर, पनि अझै उसले सत्ताको खेलबाट आफूलाई पूरै हटाइसकेको पनि छैन, प्रभावकारी अग्रसरता पनि लिइरहेको छैन । ओलीले भावी सत्ता समीकरणमा आफू टिकिरहने गरी गतिविधि अघि बढाएपछि शुक्रबार सत्ता समीकरणको विभिन्न विकल्पबारे छलफल गर्न देउवाले जसपाका नेताहरुलाई आफ्नो निवास बुढानिलकण्ठमा बोलाएका छन् । त्यसअघि पदाधिकारी र पूर्व पदाधिकारीहरुलाई बैठकमा बोलाएर देउवाले राजपालाई ओलीतिर जानबाट रोक्न सकिन्छ की भनेर संवाद गर्ने तयारी गरेका छन् । कांग्रेसकै नेता रामचन्द्र पौडेल पक्ष पनि जसपालाई ओलीतिर मिल्न दिन नहुने पक्षमा छ । सभापतिको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकमा जानु अघि महाराजगञ्जस्थित महामन्त्री डा. शशाृक कोइरालाको निवासमा पौडेल पक्षले आफ्नो रणनीतिबारे अनौपचारिक भेला गरेको छ । तर, जसपाका नेताहरु ओलीसँग सहकार्य गर्ने गरी धेरै नजिक पुगिसकेका छन् । यस्तोमा उनीहरुले आजै आफ्नो दलको संसदीय दलको नेता पनि चयन गर्दैछन् । तर पनि सत्ता राजनीतिका खेलाडी कांग्रेस सभापति शेरबहादुर देउवाको चाल भने अर्कै छ । सकेसम्म जसपालाई ओलीको सत्ता टिकाउने गरी अघि बढ्न नदिने बरु आफैं प्रधानमन्त्रीका लागि माओवादी र जसपालाई मनाउने भित्री तयारीमा छन् । जसपाका बन्दी नेताहरु रिहाईदेखि संविधान संसोधनका मुद्दामा ओलीभन्दा कांग्रेस, माओवादी र जसपा एकठाउँमा उभिंदा अघि बढ्न सहज हुने बुझाई पनि कांग्रेसको छ । यही मनस्थितिका साथ उसले जसपासँग वार्ता गर्न लागेको हो । ओलीसँग मिलेर जानेमा महन्थ ठाकुर र राजेन्द्र महतो सकारात्मक भए पनि डा. बाबुराम भट्टराई, उपेन्द्र यादव र अशोक राईसहितका नेताहरु पनि विपक्षमा छन् । जसपा नआए देउवाको अर्कै दाउ कथंकदाचित जसपा ओलीतिरै लाग्ने भए देउवाको अर्को पनि योजना छ । त्यो भनेको जसोतसो यो सत्ता तत्कालाई टिके पनि छिटो चुनावको दिशामा देशलाई अघि बढाउने तयारीमा देउवा जुटेको उनी निकट स्रोत बताउँछ । ‘कम्युनिष्टले दुई तिहाई सत्ता पाउँदा पनि मुलुकलाई निकास दिन नसक्दा प्रतिपक्षी कांग्रेसले निकास दिन्छ भनेर सरकार बनाउन दाबेदारी गर्नु अस्वभाविक होइन । परिस्थितिले जिम्मेवारी लिन भन्दा भाग्ने कुरा हुँदैन’ सभापति देउवा निकट स्रोत भन्छ, ‘तर, जसपालाई मनाउन सकिएन भने कांग्रेस सत्तामा जाँदैन । सकेसम्म यो प्रक्रियालाई यत्तिकै ढिलाई गर्दै चुनावतिर देशलाई अघि बढाउने सोच सभापतिमा देखिन्छ ।’ अहिलेको कठिन राजनीतिक अवस्थालाई बल्झाउँदै चुनावसम्म पुर्याउन सकिए राजनीतिक रुपमा आफू र आफ्नो दललाई फाइदा हुने बुझाई देउवाको छ । सत्ता र शक्तिबाट टाढा बस्न नसक्ने उपमा पाएका देउवा यसपटकको उथपपुथलको राजनीतिमा भने धैर्य गरेकाे पनि बताइन्छ । छिटो छिटो फेरिएको राजनीतिक सन्दर्भले पनि यसपटक देउवालाई परिपक्व बनाएको चर्चा हुन थालेको छ । सँगै ओलीको असंवैधानिक कदमविरुद्ध खरो रुपमा उत्रिन नसकेको भन्दै आलोचना पनि उत्तिकै भइरहेको छ । प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव कांग्रेसले नै अघि बढाउने की भन्ने तयारीबाटसमेत देउवा पछि हटेका थिए । यस्तो प्रक्रिया हटेपछि २३ फागुनको अदालतको आदेश आइदिंदा राजनीतिक रुपमा देउवा कमजोर ठहरिन सक्ने जोखिमबाट बचेका छन् । तर, पनि सत्ताको सकसमा सकेसम्म देउवाले जसपालाई ओलीतिर जान दिने मनस्थितिमा नभए पनि रोक्नका लागि राजनीतिक सक्रियता देखाइरहेका भने छैनन् । ‘संविधान, लोकतन्त्र, गणतन्त्र नै मास्न खोज्ने ओलीको कदमविरुद्ध हामीले आन्दोलन गर्यौं । यसैले हामी ओली प्रधानमन्त्री हुनुहुँदैन, उहाँ प्रधानमन्त्री हुन राजनीतिक र नैतिक रुपले पनि हुँदैन । ओली प्रधानमन्त्री हुँदा नैतिकता नै बबुरो हुन्छ’ कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल भन्छन्, ‘यसैले ओलीको विकल्प जुनसुकै हालतमा पनि खोजिनुपर्छ । तर, ओलीविरुद्ध लड्ने सन्दर्भमा हाम्रो पार्टी आक्रामक हुन सकेन । रक्षात्मक हुन आवश्यक थिएन । तर, पार्टीले प्रभावकारी अग्रसरता लिएन ।’ महाधिवेशनको मुखमा भित्री रुपमा देउवालाई यतिखेर प्रधानमन्त्री बन्ने लालसा नभएको होइन । तर, देउवाले भन्दा अघि ओलीले जसपालाई सत्ता सहयोगी बनाउन सबै अस्त्र प्रयोग गरिसकेका छन् । यसैले पनि देउवा रक्षात्मक भएको आरोप पार्टीभित्रैबाट खेपिरहेका छन् ।