NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १७ गते

पुरुषविहीन बने गाउँ, महिलाको काँधमा कामको बोझ

तनहुँः अधिकांश ग्रामीण क्षेत्रका गाउँ पुरुषविहीन बन्दै गएका छन् । रोजगारीका लागि पुरुष विदेश जान थालेपछि गाउँमा मुस्किलले एकदुई जना मात्रै पुरुष भेटिने गरेका छन् । पुरुष विदेश गएसँगै गाउँघरमा मजदूरीको काम महिलाले सम्हाल्नु परेको छ । व्यास नगरपालिका–५ साँगे, सेराका कृषक बेदकुमार श्रेष्ठले मेलापातको काममा पुरुष कामदार नपाइने गरेको बताए । धेरैजसो गाउँका युवा पुरुष विदेश वा जागिरमा जाने हुँदा गाउँघरका मेलापातमा महिला नै जाने गरेको उनले बताए । ‘पहिला–पहिला गाउँका एक÷दुई जना मात्रै विदेश जाने हुनाले फलानो लाहुरेको घर हो भनेर चिनिन्थ्यो, अहिले धेरै विदेश जान थालेपछि लाहुरे नभएको घर भेटाउनै गाह्रो छ’, उनले भने । व्यास नगरपालिका–११ पोल्याङका उत्तम कैनीले गाउँ पुरुषविहीन बन्दै गएकाले पुरुषले गर्ने सबै कामकाज महिलाले नै गर्दै आएको उनको भनाइ छ । शुक्लागण्डकी नगरपालिका–६ का विजय सुनारले विदेश जानको लागि राहदानी लिन आएको बताए । ‘राजनीतिक माहोल ठिक छैन, भ्रष्टाचार रोक्न सकिएको छैन,’ सुनारले भने, ‘जागिर खान पनि आफ्नो मान्छे छैनन् एक पटक दुबई गएर आएँ, फेरि विदेश जाने सोच बनाएको छु ।’ असली कृषकलाई ऋण तथा अनुदान प्राप्त गर्न कठिन हुने, बिचौलियाले नाफा धेरै खाइदिने उत्पादित वस्तुको बजारको सुनिश्चित नहने जस्ता समस्या भएकाले युवाको विदेश जान रुचि बढेको उनको भनाइ छ । रोजगारीको गन्तव्य विदेश बन्न थालेपछि जिल्ला प्रशासन कार्यालय राहदानी बनाउन आउने युवाको भीड बढ्न थालेको छ । दैनिक ३० देखि ३५ जना राहदानी बनाउन कार्यालयमा आउने गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । दैनिक करीब पाँच जना महिला पनि वैदेशिक रोजगारीका लागि राहदानी बनाउन आउने गरेको बरालले बताए । परामर्श दिने क्रममा राहदानी लिन आउनेमध्ये अधिकांश खाडी मुलकमा काम गर्नका लागि जाने गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । रासस