NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १७ गते

प्रचण्डले बादललाई भने, ‘भो फर्किनुपर्दैन, यहाँ आए भाँडभैलो हुन्छ’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले रामबहादुर थापा ‘बादल’ लाई एमालेमै बस्न सुझाव दिएका छन् । शुक्रबार बुटवलमा अगुवा कार्यकर्ता भेलामा सम्बोधन गर्दै प्रचण्डले बादललाई अब फर्किन आवश्यक नभएको बताएका हुन् । ‘केही साथीले बादललगायत नेतालाई फकाउन सुझाव दिनुभएको छ । तर, मलाई फकाउन मन लागेको छैन,’ उनले भने, ‘भो ति फर्किनु परेको छैन, उतै बसे हुन्छ, ति यहाँ आए भाडभैलो हुन्छ । यहाँ आएर रोए भने म पग्लिन्छु भन्ने डर छ । आफ्नै साथीहरु अन्यायमा परेजस्तो हुन्छ ।’ प्रचण्डले बदमासी गरेकालाई फकाउँदा गल्ती हुने बताए । सर्वोच्च अदालतले प्रचण्ड र केपी ओली नेतृत्वको नेकपालाई खारेज गरेपछि ओली समूहमा गएका नेताप्रति लक्षित गर्दै प्रचण्डले यस्तो बताएका हुन् । पार्टी अलगअलग हुँदा माओवादीका नेताहरु बादल, टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट, मणि थापालगायत नेता एमालेमै छन् । प्रचण्ड समूहमा रहेका माधवकुमार नेपाल, झलनाथ खनाल लगायतका नेता एमालेमा फर्किए पनि माओवादीका नेताले ओलीको साथ नछोडेका हुन् । प्रचण्डले पहिचान, अस्तित्व र इतिहास बिर्सिएर जानु जस्तो धिक्कार केही नभएको बताए । उनले विचार र आस्थामा रहँदामात्र क्रान्तिकारी हुनुको गर्वबोध हुने प्रष्ट पारे । ‘केही केही गए तिनिहरु अस्तित्वहीन भएर गए । पहिचान, आफ्नो धर्ती, आफ्नो आधार, इतिहास र विरासत छोडेर भाग्नु भन्दा धिक्कार जीवनमा अरु केही हुनै सक्दैन’, प्रचण्डले भने, ‘मान्छे बाँच्छ आस्थाको निम्ति, विचारको निम्ति, मर्छ आस्थाको निम्ति विचारको निम्ति । त्यसैमा मानव र क्रान्तिकारी हुनुको गर्वबोध हुने हो ।’