NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १७ गते

प्रधानमन्त्रीमा जसपाको दाबेदारी

जनता समाजवादी पार्टीले अबको नेतृत्व सम्हाल्न आफूहरु तयार रहेको जनाएको छ । सिंहदरबारस्थित जसपा संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकबारे जानकारी गराउँदै नेता राजकिशोर यादवले अब जसपाले सरकारको नेतृत्वका लागि कुरा गर्ने निर्णय भएको बताए । उनले आफूहरुलाई सँधै भर्याङका रुपमा मात्रै हेरिने भएकाले यसपटक भने, आफू नै नेतृत्वमा जान तयार रहेको बताए । यादवले भने, ‘हामीलाई जहिले पनि सत्तामा पुग्ने भर्याङका रुपमा हेरिन्छ । प्रश्न सोध्दा पनि त्यसैगरी सोधिन्छ । तर, अब हामी यो मान्यतालाई चिर्न चाहान्छौं ।’ उनले कांग्रेस, एमाले र माओवादीसँग आफूहरु नेतृत्वकै लागि वार्तामा जाने निर्णय भएको बताए । ‘हामीले कांग्रेस, एमाले वा माओवादी सबैसँग नेतृत्वकै लागि प्रस्ताव लिएर जान्छौं । उहाँहरुले कस्तो जवाफ दिनुहुन्छ, सोही अनुसार अगाडि बढ्छौं,’ नेता यादवले भने । साथै उनले आफूहरुका मुद्दा सम्बोधन नभएसम्मका लागि कुनै पनि सरकारमा सहभागी हुन नसकिने बताए । ‘हाम्रो एजेण्डा क्लियर छ । विप्लव, सिके राउतहरुका मुद्दा सम्बोधन हुने तर निर्वाचित सांसद रेशम चौधरीको मुद्दा किन सम्बोधन नहुने । निःशर्त उहाँलाई रिहाइ गर्नुपर्छ । अनि बाँकी अन्य मुद्दाहरु पनि छन् । ति सम्बोधन नहुँदासम्म हामी कसैसँग पनि सत्ता समीकरणबारे सोच्दैनौं’, नेता यादवले बैठकमा भएको छलफलबारे जानकारी गराउँदै भने । उनले आफूहरु सँधै अरुको समर्थनका लागि मात्रै उपयोगी हुँदै आएको मान्यता स्थापित भएकाले यसपटक यो मान्यता चिर्नका लागि भए पनि सरकारको नेतृत्व गर्न तयार भएको बताए । उनले अघि भने, ‘यो एतिहासिक कार्यभार लिन हामी तयार छौं । अहिलेको निकाशका लागि कांग्रेस, माओवादी र एमालेले कस्तो दृष्टिकोण बनाएका छन् । हामी उहाँहरुको दृष्टिकोण हेरेरै अगाडि बढ्छौं ।’ आजको बैठकमा संसदीय दलको नेता चयन गर्ने भने पनि जसपाले चयन गर्न सकेन । कांग्रेससँग चार बजे बैठक भएकाले समय नपुगेको भन्दै आज संसदीय दलको नेता चयन हुन नसकेको जसपाले जनाएको छ ।