NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १७ गते

ओलीसँगको सत्ता समीकरणमा भट्टराई र यादव असन्तुष्ट

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा सरकार र जनता समाजवादी पार्टीबीच सकारात्मक छलफल भएको बताइएको थियो । बिहीबारको बैठकले जसपा र केपी ओलीबीच सत्ता समीकरण हुने संकेत गरेको थियो । तर, शुक्रबार जसपाकै दुई नेताले ओलीसँग कुनै पनि हालतमा सत्ता समीकरण हुन नसक्ने ठोकुवा गरेका छन् । शुक्रबार दिउँसो सिंहदरबारस्थित जसपा संसदीय दलको कार्यालयमा बसेको बैठकमा नेता बाबुराम भट्टराई र उपेन्द्र यादवले ओलीको नेतृत्व स्वीकार गर्न नसकिने बताएका छन् । बैठकमा नेता बाबुराम भट्टराईले प्रतिगमनकारी सरकारलाई सहयोग गर्न नसकिने बताएका छन् । ‘संविधान नै कुल्चेर प्रतिगमनको कदम चालेको सरकारलाई सहयोग गर्न कुनै पनि हालतमा सकिँदैन’, उनले बैठकमा भने । यस्तै अर्का नेता उपेन्द्र यादवले पनि ओली संघीयता, परिवर्तन र संविधानविरोधी भएकाले उनीसँग सत्ता समीकरण हुननसक्ने बताएका छन् । यादवले भने, ‘संघीयता विरोधी, परिवर्तन विरोधी र सविधान विरोधी शक्तिसँग सहकार्य हुन सक्दैन ।’ उनले प्रधानमन्त्री ओलीको बहिर्गमन यतिबेलोको प्रमुख आवश्यकता भएको जिकिर गरेका छन् । ‘प्रधानमन्त्रीलाई छोड्नुस् भनिरहेका छौं । हामीले बनाएको कार्यदल मुख्य काम रेशम चौधरीलाई रिहाई गर्नेमात्र हो ।’ कार्यदलको काम अरु कुनै राजनीतिक मुद्दासँग नभइ रेशम चौधरीको रिहाइका लागि मात्रै भएको उनले दाबी गरे । अहिले पनि आफूहरुको मुख्य मुद्दा संविधान संशोधन नै भएकाले यो माग पूरा नभएसम्म अरु विषयमा प्रवेश नगर्ने नेता यादवले बैठकमा बताएका छन् ।