छानीछानी प्रतिसोध साँध्न थाले ओली, विदेश विभागबाट पनि हटाइए नेपाल

काठमाडाैँ । शुक्रबार बसेको नेकपा एमाले (ओली गुट) को केन्द्रीय सदस्यहरुको भेलापछि प्रधानमन्त्री तथा अध्यक्ष ओलीले आफूविरुद्ध सक्रिय भएका सबै नेतालाई जिम्मेवारीविहीन बनाएका छन् । महासचिव विष्णु पौडेल बाहेक अरु सबै नेतालाई जिम्मेवारीबाट हटाउँदै आगामी मंसिरमा महाधिवेशन पनि तोकेका छन् । तेस्रो वरियतामा रहेका माधव नेपाललाई वरियताबाट मात्रै हटाएनन् कि विदेश विभाग प्रमुखको जिम्मेवारीबाट पनि हटाएका छन् । ओलीले नेपालको ठाउँमा आफ्ना सल्लाहकार राजन भट्टराईलाई विदेश प्रमुखको जिम्मेवारी दिएका छन् । ओलीले संसद् विघटनका बेला आफूमाथि खनिएका नेतालाई छानी छानी कारबाही गरेका छन् । यस्तै, दोस्रो वरियता क्रममा रहेका पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई पनि जिम्मेवारीविहीन बनाइएको छ । यससँगै नेकपा एमालेभित्रको अन्तरसंघर्ष चरम उत्कर्षमा पुग्ने निश्चित भएको छ । पार्टीभित्रै बसेर प्रतिवाद गर्ने अडानसहित प्रचण्ड पक्षबाट फर्किएका नेता नेपाललगायतलाई जिम्मेवारीविहीन बनाएपछि पार्टी फुटको अग्रसरतातिर लम्केको छ । ओलीले नेकपा एमालेको केन्द्रीय कमिटी बैठक चैत्र १ गतेका लागि बोलाएका थिए । तर, अकस्मात शुक्रबार नै आफू निकट केन्द्रीय सदस्यहरुलाई बालुवाटार बोलाएर आफ्नो विपक्षमा रहेका नेतामाथि प्रतिसोध साँधेका छन् । नेपाल–खनाललाई जिम्मेवारीविहीन मात्रै बनाएन्, उनले प्रदेश इन्चार्जमा पनि हेरफेर गरेका छन् । माओवादी र एमाले ब्यूँतिएपछि एमालेमा आएका रामबहादुर थापा बादलसहित २३ जना माओवादी नेतालाई केन्द्रीय सदस्यमा मनोनित पनि गरेका छन् । बादललाई केन्द्रीय सदस्यसहित प्रदेश ३ का इन्चार्ज पनि तोकेका छन् । यसअघि प्रदेश ३ मा नेतृ अष्टलक्ष्मी शाक्य थिइन् । यस्तै, सुदूरपश्चिम प्रदेश इन्चार्जमा भीम रावललाई हटाएर लेखराज भट्टलाई जिम्मेवारी दिइएको छ ।भट्ट विवादपछि ओलीलाई नै साथ दिने भन्दै प्रचण्डको साथ छाडेका थिए । कर्णाली प्रदेश इन्चार्जमा युवराज ज्ञवाली हटाएर यामलाल कँडेललाई तोकिएको छ । प्रदेश १ मा पनि भीम आचार्यलाई हटाएर संसदीय दलका उपनेतासमेत रहेका सुवास नेम्वाङलाई इन्चार्जको जिम्मेवारी दिइएको छ ।
प्रतिक्रिया