NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १७ गते

जसपा नेताहरू देउवा निवासमा, सत्ता समीकरणबारे छलफल हुँदै

जनता समाजवादी पार्टीका नेताहरु कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफलमा जुटेका छन् । दिउँसो संसदीय दलको बैठक सक्याएर देउवा निवास बुढानीलकण्ठमा पुगेका जसपा नेता र कांग्रेस सभापति देउवाबीच छलफल चलिरहेको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । कांग्रेससँग आफ्ना एजेण्डा मिले सत्ता समीकरणका लागि तयार रहेको बताउँदै आएको जसपाले अहिले पनि सोही विषयमा छलफल गरिरहेको छ । यसअघि बिहीबार जसपाका नेताले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरेका थिए । संसद्मा तत्कालीन एमालेका १२० सांसद मात्रै भएकाले जसपाको सहयोग लिइ सरकारलाई निरन्तरता दिने रणनीतिमा प्रधानमन्त्री ओलीले जसपासँगको छलफल अघि बढाएका हुन् । संसदमा जसपाको ३४ सिट छ । सर्वोच्च अदालतले यही फागुन ११ गते प्रतिनिधिसभा पुनःस्थापना गर्ने निर्णय गरेपछि र सर्वोच्चले नै यही फागुन २३ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को गठन अमान्य हुने फैसला गरेपछि मुलुकको राजनीतिले नयाँ मोड लिएको छ । माओवादी केन्द्र र एमालेको एकतापछि जुटेको बहुमतले प्रधानमन्त्री बनेका ओलीले माओवादीले समर्थन फिर्ता लिने तयारी गरेपछि बहुमत जुटाउने कसरत गरिराखेका छन् । यता माओवादी केन्द्र, प्रमुख प्रतिपक्षी दल कांग्रेस र जसपालेसमेत सत्ता समीकरणमा सहयात्राका लागि छलफल चलाइराखेका छन् ।