NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १७ गते

अब के गर्लान् माधव नेपाल समूह ?

प्रतिनिधिसभा विघटन गरेर संविधानको खुला अपहेलना गरेका प्रधानमन्त्री केपी ओलीले पार्टी विधानको पनि उल्लंघन गरेका छन् । हिजो मात्र चैत्र १ गतेका लागि नेकपा एमालेको केन्द्रीय समिति बैठक बोलाएका ओलीले आज बालुवाटारमा आफू पक्षीय भेला डाकेर मनमौजी पद पजनी गरेका छन् । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू खारेज गरेको घोषणा मात्र गरेनन्, माधवकुमार नेपाल समूहमा रहेका प्रदेश इन्चार्जहरूलाईसमेत हटाएका छन् । बागमती प्रदेशमा नेपाल समूहमा रहेकी अष्टलक्ष्मी शाक्य इन्चार्ज थिइन् । उनको स्थानमा माओवादी केन्द्रबाट ओलीलाई साथ दिन पुगेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई जिम्मेवारी दिएका छन् । त्यसैगरी नेपाल समूहमै रहेका प्रदेश नम्बर एकका इन्चार्ज भीम आर्चायलाई हटाएर आफू पक्षीय सुवास नेम्वाङलाई मनोनित गरेका छन् । सुदूरपश्चिम प्रदेशमा पनि ओलीले भीम रावल फ्याकेर लेखराज भट्ट, कर्णाली प्रदेशमा युवराज ज्ञवालीको ठाँउमा यामलाल कंडेललाई इन्चार्ज बनाएका छन् । प्रदेश नम्बर दुईमा सत्यनारायण मण्डललाई इन्चार्ज तोकेका छन् । गण्डकी प्रदेश इन्चार्ज पृथ्वी सुब्बा गुरुङ र लुम्बिनी प्रदेश इ्रन्चार्ज शंकर पोखरेल यसअघिदेखि नै ओलीसँगै थिए । प्रधानमन्त्री ओलीले मनमौजी निर्णय गरेपछि अब नेपाल समूहले के गर्ला ? चासोको विषय बनेको छ । किनभने ओलीको यस निर्णयले नेपाल समूहलाई सबैभन्दा अप्ठ्यारोमा पारेको छ । र, ओलीले यस समूहलाई वेवास्ता गर्दै पेलेरै जाने छाँट देखाएका छन् । अनेरास्ववियुको पूर्व उपाध्यक्ष एवं बागमती प्रदेशका सांसद लक्ष्मण लम्साल, जो नेपाल समूहमा छन्, का अनुसार ओली विधि, प्रकृया, सिद्धान्तमा होइन, जबरजस्तीमा विश्वास राख्छन् । यसबेला ओलीसँग जे जति नेता/कार्यकर्ताहरू छन, ओलीले जे भन्छन्, सरासर मान्नेहरू मात्र छन् । ओलीसँग आँखा जुधाएर बोल्ने, तर्क, छलफल गर्ने नेता/कार्यकर्ताहरू कोही पनि छैनन् । २३ फागुनमा सर्वोच्च अदालतले माग, दावी नै नगरेको विषयमा जुन फैसला गर्‍यो, त्यो डिजाईनमै आएको लम्साल बताउँछन् । लम्सालका शब्दमा ११ फागुनमा प्रतिनिधिसभा पुनःस्थापितको फैसला गर्दा ओलीलाई जुन अप्ठ्यारो परेको थियो, त्यसको क्षतिपूर्ति गरिदिन डिजाइनमै २३ फागुनमा एमाले र माओवादी केन्द्र ज्युँका त्युँ रहेको फैसला गरिएको थियो । सर्वोच्चको फैसलापछि माधव नेपाल समूह त्यसलाई सम्मान गर्दै एमाले जोगाउने अभियानमा गेका थिए । ‘ओली विधि, प्रकृया, सिद्धान्तमा होइन, जबरजस्तीमा विश्वास राख्छन् । यसबेला ओलीसँग जे जति नेता÷कार्यकर्ताहरू छन्, ओलीले जे भन्छन्, सरासर मान्नेहरू मात्र छन् । ओलीसँग आँखा जुधाएर बोल्ने, तर्क, छलफल गर्ने नेता/कार्यकर्ताहरू कोही पनि छैनन् ।’ ‘समाचारमा आएको कुरा सही हो भने आजको केपी ओलीको निर्णय एमालेभित्रको समस्या सुल्झाउने भन्दा बल्झाउने नियतबाट प्रेरित छ । ओलीको यो निर्णयले एमालेसहित कम्युनिस्ट आन्दोलन सिध्याउने खेल सुरु भयो’, लम्साल भन्छन्, ‘नेपाल समूह एमालेलाई बलियो बनाउने वातावरण बनोस् भनेर नरम भइरहनु भएको थियो । तर, ओलीले त्यसलाई कमजोरी ठाने । ओलीको यस शैलीले एमाले पार्टी त कमजोर हु्रन्छ नै, कम्युनिस्ट आन्दोलन पनि सकिन्छ ।’ नेकपा एमालेका केन्द्रीय सदस्य ठाकुर गैरे केन्द्रीय समिति बैठक नै नबसी पदाधिकारी परिवर्तन गर्न कसरी मिल्छ ? भनेर प्रश्न गर्छन् । गैरेका अनुसार नेकपा एमालेको बैठक आयोजना भएको छैन । तर, नेपाल समूहले ओलीको निर्णयपछि आकस्मिक बैठक बोलाएको छ । अहिले नयाँ बानेश्वरस्थित अर्याल होटलमा नेपाल समूहको स्थायी कमिटी बैठक बसिरहेको छ । भन्छन्, ‘जुन पार्टीको बैठक नै आयोजना भएको छैन । कसलाई प्रदेश इन्चार्जबाट हटायो कसलाई राख्यो भन्ने कसले पत्याउने ?’ नेपाल समूहमा रहेका गैरेलाई त्यही कारण ओलीले पटक–पटक अवसरबाट वन्चित गरेका छन् । नेकपा एमालेका पोलिटब्यूरो सदस्य पशुपति चौलागाई केपी ओलीले गरेको निर्णयको वैधता नहुने बताउँछन् । चौलागाई नेपाल समूहमा छन् । त्यही कारण पुराना नेता भए पनि ओलीले उनलाई ‘कर्नर’ मा पार्दै आएका छन् । फागुन ०५४ मा तत्कालीन एमाले विभाजन भएपछि तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघका अध्यक्ष उदयराज पाण्डे वामदेव गौतम नेतृत्वको मालेतिर लागेका थिए । त्यसबेला एमाले निकट प्ररायु्संघको कमाण्ड चौलागाईले नै सम्हालेका थिए । ‘केपी ओलीले जुन ढंगले काम गर्दै हुनुहुन्छ, यो कम्युनिस्ट आन्दोलन, लोकतन्त्र परिवर्तनप्रतिको कुनै जिम्मेवारी छैन । उहाँले जे मन लाग्यो, त्यही निर्णय गर्नुहुन्छ । त्यसैले उहाँले गरेका निर्णयलाई स्वीकार गर्न सकिन्न’, चौलागाई भन्छन्, ‘उहाँले गरेका निर्णय संविधान, पार्टी विधान र मुलुकका लागि जिम्मेवार हुन्छन् ।’