NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १७ गते

कांग्रेससँग सत्ता समीकरणबारे जसपा सकारात्मक

जनता समाजवादी पार्टी कांग्रेसँग सत्ता समीकरणका आफूहरु सकारात्मक भएको बताएको छ । शुक्रबार साँझ करिब एक घण्टाजति कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा भएको भेटमा जसपा र कांग्रेसबीच सत्ता समीकरणका विषयमा सकारात्मक छलफल भएको छ। जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, केन्द्रीय परिषद अध्यक्ष महन्थ ठाकुरलगायत शीर्ष नेताहरूले कांग्रेसका शीर्ष नेतासँग एक घण्टा कुराकानी गरेका हुन्। भेटपछि कांग्रेसँग मिलेर सरकारमा जाने बारे छलफल भएको जसपाका अध्यक्ष महन्थ ठाकुरले जानकारी दिए । त्यतिमात्रै होइन, अन्य मुद्दामा पनि कांग्रेसँगै मिलेर जाने भन्ने विषयमा छलफल भएको नेता ठाकुरले बताए । ‘सरकारमात्रै होइन, अन्य विषयमा पनि कांग्रेसँग मिलेर जाने भन्ने विषयमा छलफल भयो,’ उनले भने, ‘पार्टीका नेताहरुलाई जेलबाट छुटाउने विषयमा पनि छलफल भएको छ ।’ उनले निर्णयगत रुपमा त कुनै सहमति नभए पनि मिलेर जाने भन्ने विषयमा कुरा मिलेको जानकारी दिए । जसपाले प्रधानमन्त्रीको नेतृत्व गर्न खोजेको विषयमा भने ‘सरप्राइज’ भएका नेता ठाकुरको प्रतिक्रिया थियो । उनले माओवादी केन्द्रसँग पनि जसपाले छलफल गर्ने जानकारी दिए । कांग्रेससँग जसपाले नागरिकता संशोधनका विषयमा पनि कुरा राखेको छ । ‘सबैले मिलेर जाऔं भनेका छन्, हामी पनि मिलेरै जाने पक्षमा छौं,’ उनले भने । जसपा र कांग्रेसबीच एउटै साझा धारणा बनाउने भन्ने विषयमा छलफल भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । आजको छलफलबाट कांग्रेस, जसपा र माओवादी एकै ठाउँमा उभिने भन्ने विषयमा निष्कर्ष निस्केको उनको भनाइ छ ।