प्रतिनिधिसभा फेरि विघटन गर्ने ओलीको योजना

बालुवाटारमा आज आफू पक्षीय केन्द्रीय सदस्यहरूको भेलामा प्रधानमन्त्री केपी ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्ने खुलासा गरेका छन् । भेलामा सहभागी एमालेका एक नेताका अनुसार ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्ने योजनाबारे जानकारी दिएका हुन् । ति नेताका भनाइमा भेलामा ओलीले भने, ‘स्थिरताका लागि मैलें संसद् विघटन गरेको थिएँ । पुनःस्थापना भएपछि फेरि मुलुक अस्थिरतातर्फ जान्छ । अस्थिरता चाहनेहरू सल्बलाउन थालेका छन् । मुलुक छिट्टै निर्वाचनमा जान्छ । म स्थिरताको पक्षमा छु । फेरि संसद् विघटन गर्ने पक्षमा छु । निर्वाचनको पक्षमा छु । गृहकार्य पुर्याएर फेरि विघटन गरिन्छ ।’ ओलीले संविधानको धारा ७६ को उपधारा अनुसार प्रधानमन्त्रीमा निरन्तरता खोजिरहेका छन् । त्यस उपधारामा ‘प्रतिनधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको सर्मथनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछ’ उल्लेछ । यो संभावना टर्यो भने उनी उपधारा तीन, चार, पाँच, छ पार गर्दै सातमा पुगेर ओलीले प्रतिनिधि सभा पुनः विघटन गर्ने दाउँ हेरिरहेको बुझिन्छ । उपधारा सात मा लेखिएको छ, ‘उपधारा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले विस्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी छ महिनाभित्र अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्नेछ ।’ कांग्रेस माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिलेर संविधानको धारा ७६ को उपधारा (२) अनुसार सरकार गठन गरे भने चाहिँ ओलीले फेरि प्रतिनिधि सभा विघटन गर्न पाउने छैनन् । जसपाको पछिल्लो निर्णयले मुलुक यही प्रक्रियातिर जाने देखिन्छ ।
प्रतिक्रिया