माओवादीसँग सत्ता समीकरणका लागि जसपा नेताहरु पेरिसडाँडामा

शुक्रबार कांग्रेसँग छलफल गरेका जनता समाजवादी पार्टीका नेताहरु सत्ता समीकरणका लागि माओवादीसँग छलफल गर्न पेरिसडाँडा पुगेका छन् । माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा अहिले जसपा नेपाल महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठले माओवादीका शीर्ष नेताहरुसँग छलफलमा जुटेका हुन् । यसअघि बिहीबारको प्रधानमन्त्री केपी शर्मा ओलीसँगको बैठकमा जसपा लचक देखिए पनि शुक्रबार बसेको संसदीय दलको बैठकपछि माओवादी र कांग्रेससँगै सत्ता समीकरण गर्ने निचोडमा पुगेको छ । शुक्रबारको बैठकमा नेता उपेन्द्र यादव र बाबुराम भट्टराईले ओली प्रतिगमनकारी भएकाले कुनै पनि हालतमा उनलाई साथ दिन नसकिने बताएका थिए । अदालतको फैसला लगत्तै माओवादी केन्द्र ब्युँतिए पछि प्रधानमन्त्री ओली अल्पमतमा परेका छन् । ओलीले आफूतिर जसपालाई ल्याउन फकाए पनि भट्टराई र यादवको अडानका कारण जसपा कांग्रेस–माओवादीतिरै मिल्ने देखिएको छ । पछिल्लो राजनीतिक घटनाक्रमपछि सत्ता समीकरणमा जसपा निर्णायक देखिएको छ । त्यसैले पनि प्रधानमन्त्री ओली, कांग्रेस र माओवादीले जसपालाई आफ्नो पक्षमा ल्याउन कसरत गरिरहेका छन् ।
प्रतिक्रिया