NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १७ गते

सरकारको जिम्मेवारी आए पछि हटिन्न : देउवा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति देउवाले अहिलेको परिस्थितिमा सरकारको जिम्मेवारी कांग्रेसलाई आए उक्त जिम्मेवारीबाट पार्टी पछि नहट्ने बताएका छन् । नेपाली कांग्रेसको केन्द्रीय महिला विभागले शनिवार आयोजना गरेको महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् । कांग्रेसले लोभ र हतार गर्न नहुने तर परिस्थिति आइपर्‍यो भने सरकारको नेतृत्व गर्ने जिम्मेवारीबाट नभाग्ने बताए । ‘नेपालको राजनीति अत्यन्तै तरल अवस्थामा छ । हाम्रो पार्टीले धेरै हतार गर्ने, लोभ गर्ने काम पनि छैन । र परिस्थिति पर्‍यो भने जिम्मेवारीबाट भाग्ने काम पनि छैन,’ उनले भने । सभापति देउवाले लोकतन्त्र रक्षका लागि कम्युनिष्ट पार्टीविरुद्ध लड्नुपर्ने बेला भएको समेत बताउँदै उनले कम्युनिष्टपार्टीले जनतालाई झूटा नारामात्र दिएको जिकिर गरे । ‘कम्युनिस्टले ‘भूठा नारा दिएर, जनतालाई बहकाएर, महिलाहरुलाई बहकाएर आफू सत्तामा बसिरहने कुरा गरिरहेका छन् । कम्युनिष्टविरुद्ध लडेर प्रजातन्त्रलाई स्थायी बनाउने जिम्मेवारी नेपाली कांग्रेसलाई छ,’ उनले भने । नेपालमा लोकतन्त्रका लागि लड्ने पार्टी कांग्रेस मात्रै भएको देउवाले दाबी गर्दै अरु राजनीतिक पार्टीहरु प्रजातन्त्रवादी नै नभएको बताए । देउवाले महिला मतदातालाई कांग्रेसमा आकर्षित गराउनुपर्नेमा समेत जोड दिए । उनले एकदलीय सर्वसत्तावाद लागू गर्न चाहेका कारण प्रजातन्त्रलाई स्थायी बनाउन उनीहरुविरुद्ध लड्नुपर्ने बेला आएको बताए ।