NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

डब्लूडब्लूएफको सद्भावना दूतमा आनी छोइङ डोल्मा

काठमाडौं । विश्वव्यापीरुपमा बढ्दो वातावरणीय समस्याको न्यूनीकरण तथा संरक्षणमा पूर्वीय संस्कृति एवं सभ्यताको प्रचारप्रसार गराउने उद्देश्यले विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) नेपालले गायिका एवं संरक्षणकर्मी आनी छोइङ डोल्मालाई सद्भावना दूत नियुक्त गरेको छ । विश्वमा सयभन्दा बढी देशमा संयन्त्र विस्तार भएको यस संस्थाले हालै आनी छोइङलाई सद्भावना दूत नियुक्त गरेर वातावरण संरक्षणमा नेपालका प्रयासहरु र नेपालले गर्नुपर्ने कार्यहरुका बारेमा विश्वव्यापी अभियानको थालनी गरेको बताएको छ । डब्लूडब्लूएफ नेपालले विगतमा विभिन्न अभियानहरुमा अभियानदूतका रुपमा विभिन्न व्यक्तित्वलाई छनोट गरेपनि पहिलोपटक सद्भावना दूतको घोषणा गरी संरक्षण अभियानलाई विश्वव्यापी रुपमा सञ्चालन गर्न लागेको जनाएको छ । सन्तुलित विकासका लागि अध्यात्मिक र धार्मिक मूल्यमान्यता एवं विश्वासलाई विस्तार गर्नु आवश्यक भएकाले यस अभियानमा लामो समयदेखि क्रियाशील रहेकी आनी छोइङलाई सद्भावना दूत नियुक्त गरिएको डब्लूडब्लूएफ नेपालका राष्ट्रिय प्रतिनिधि डा. घनश्याम गुरुङले जानकारी दिए । उनले भगवान गौतम बुद्धको शान्ति, शिक्षा, सामाजिक भेद्भावको अन्त्य गर्न तथा विकास र वातावरणलाई सन्तुलित रुपमा अघि बढाउनु पर्ने ज्ञानको प्रचार गर्न आनी छोइङको सक्रिय भूमिका रहने विश्वास व्यक्त गरे । आधुनिकताको नाममा भएको वातावरण विनाश रोक्न र प्राकृतिक सम्पदाको संरक्षण गरी सुन्दर पृथ्वी भावी पुस्तालाई सुम्पिने अवस्था बनाउनु आजको मुख्य आवश्यकता रहेको सद्भावना दूत आनी छोइङले बताइन् । ‘प्रकृति र संस्कृतिप्रतिको प्रेमले नै मलाई यस अभियानमा लाग्न प्रेरित गरेको छ । राष्ट्रिय/अन्तर्राष्ट्रिय स्तरमा सुरक्षित भविष्यका लागि जनचेतना अभिवृद्धिमा लाग्न थप जिम्मेवारी पाएकी छु ।’ वनजङ्गलको विनाशले गर्दा आज ८५ प्रतिशत स्वच्छ पानीका मुहान सुकेका, बाढी-पहिरोजस्ता प्राकृतिक विपद्का घटनामा वृद्धि भएको बताउँदै उनले अहिले नै हामीले वातावरण संरक्षणमा ध्यान दिन नसके अनेक समस्या आउनसक्ने निश्चित रहेको उल्लेख गरिन् । आज बजारीकरणका नाममा बहुमूल्य जडीबुटीको लोप एवं दुर्लभ वन्यजन्तुको चोरी-सिकारीका घटना बढ्दै गएको, खानपानमा विषादि तथा प्लास्टिकजन्य वस्तुको बढ्दो प्रयोगले गर्दा मानव र प्रकृतिबीचको सन्तुलन खल्बलिन जाँदा वातावरण र जनस्वास्थ्यमा अनेक समस्या आएकाले यसबारेमा पनि विश्वव्यापीरुपमा जनचेतना बढाउन आवश्यक रहेको आनी छोइङको भनाइ छ । प्रकृति संरक्षणमा नेपालले गरेको सफल उदाहरणहरु प्रचार हुनु आवश्यक रहेको बताउँदै उनले हाम्रो मौलिकतालाई मासिन नदिई विश्वका अन्य मुलुकका सिकाइलाई पनि हामीले आत्मसात गर्न सक्नुपर्ने खाँचो औँल्याइन् । (रासस)