NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

गोसाइँकुण्ड केबलकारको प्रक्रिया चाँडै अघि बढ्ने

काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले बहुचर्चित धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणको प्रस्ताव छिट्टै निर्णयमा पुग्ने बताएका छन् । रसुवा रंगशाला एवम् प्रथम गाउँपालिका अध्यक्ष कप फुटबल प्रतियोगिताको आज धुञ्चेमा उद्घाटनपश्चात् जनसमुदायलाई सम्बोधन गर्दै उनले भगवान शंकर गोसाइँ बाबा विराजमान रहेका पवित्र तीर्थको धार्मिक यात्रा सहज पार्न धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणका लागि वातावरण विज्ञले तयार पारेको कार्यविधि प्रतिवेदन स्वीकृतका लागि छिट्टै मन्त्रिपरिषद्मा लाने तयारी भएको जानकारी दिए । समुन्द्र सतहदेखि चार हजार ३८० मिटर उचाइमा अवस्थित पौराणिक धार्मिक एवम् पर्यटकीयस्थलमा जिन्दगीभर एकपटक भए पनि पुग्नैपर्ने मान्यताअनुरूप भक्तजनलाई यात्रामा सहज पार्न गोसाइँकुण्ड गाउँपालिकाले केबुलकार निर्माणको प्रस्ताव अगाडि सारेको उक्त गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले बताए । एघार किमी छोटो दूरीको धुञ्चे–गोसाइँकुण्ड केबुलकार निर्माणका लागि गोसाइँकुण्ड गाउँपालिकाले विसं २०७५ देखि प्रक्रिया अगाडि बढाए पनि लाङ्टाङ राष्ट्रिय निकुञ्जको नीतिनियमले अलमल पारिराखेका अवस्थामा वन तथा वातावरणमन्त्रीको स्थलगत अवलोकनले अब पूर्णता पाउनेमा आम नागरिक विश्वस्त भएको स्थानीय बासिन्दाले बताएका छन् । यसैगरी मन्त्री आलेले फुटबल खेलको उद्घाटन गरेका छन् । रसुवा रंगशाला निर्माणका लागि एक करोड रुपैयाँ खर्च भएको र सोमध्ये ३५ लाख रुपैयाँ प्रदेश सरकार एवम् ६५ लाख रुपैयाँ गोसाइँकुण्ड गाउँपालिकाले व्यहोरेको बताइन्छ । यस्तै वन तथा वातावरणमन्त्री आलेले लाङ्टाङ राष्ट्रिय निकुञ्जमार्फत धुञ्चेमा निर्माण भएको पर्यटन सूचना केन्द्र भवनको आज एक छुट्टै कार्याक्रमकाबीच उद्घाटन गरे । लाङ्टाङ तथा गोसाइँकुण्ड एवं निकुञ्ज क्षेत्रको भ्रमणमा आउने पर्यटकलाई यहाँको जैविक विविधता र वन वनस्पति, वन्यजन्तु एवम् वातावरणको संरक्षणका विषयमा जानकारी गराउने उद्देश्यले भूकम्पपछिको पुनःनिर्माणअन्तर्गत ३० लाख रुपैयाँको लागतमा पर्यटन सूचना केन्द्र निर्माण भएको प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले जानकारी दिइन् । रसुवा, नुवाकोट र सिन्धुपाल्चोक जिल्लाको हिमाली भेकमा छरिएर रहेको एक हजार ७१० संरक्षित र ४२० वर्ग किमी लाङ्टाङ राष्ट्रिय निकुञ्जको सबै आधार इलाकामा पुग्ने पर्यटकलाई भ्रमणको उपलब्धि र संरक्षणको पाटोमा सूचना केन्द्रले मद्दत पुर्याउने विश्वास गरिएको छ । सो केन्द्रमा सबैखालका सम्पदा झल्कने श्रव्यदृश्यसमेत राखिने निकुञ्जले जनाएको छ । सांकेतिक तस्बिर