NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

क्यान्सर अस्पताललाई राज्य नियन्त्रित अखडा बनाउन खोजेकोमा कांग्रेसको आपत्ति

काठमाडौं । बजेटमा सरकारले ल्याएको क्यान्सर संस्थानको अवधारणा मार्फत ३ वटा स्थापित क्यान्सर अस्पतालहरुको स्वायत्तता कुण्ठित गर्ने नियतमाथि कांग्रेसले प्रश्न उठाएको छ । सरोकारवालाहरुले गम्भीर प्रश्न उठाइसक्दा पनि प्रधानमन्त्रीको मौनता जारि रहेको भन्दै कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । क्यान्सर रोगको अध्ययन, अनुसन्धान र उपचारलाई राज्यले थप ब्यवस्थित, प्रोत्साहित र बढावा दिन निश्चयनै जरुरी रहेको कांग्रेसले जनाएको छ । ‘स्थापित स्वास्थ प्रतिष्ठानहरु हाम्रो भरपर्दाे आधार हुन् । ०४६ को परिवर्तन पश्चात् नेपाली कांग्रेसको नीति र नेतृत्वमा स्वदेशी र वैदेशिक सहयोगमा स्थापित र विकसित केहि क्यान्सर अस्पतालहरु देशमा छन् । समयानुकूल तिनको क्षमता विस्तार गर्ने र ती मार्फत नविन अनुसन्धानमा सहजीकरण गर्ने कर्तव्य राज्यको हो’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘त्यसका लागि सक्षम प्रतिष्ठानहरुलाई नै अध्ययन र अनुसन्धानका लागि प्रोत्साहित र शसक्तिकरण गर्ने योजना उपयुक्त हुनसक्थ्यो । तर त्यसो नगरी अलग्गै विवादास्पद संरचना मातहत ल्याउने र अस्पतालहरुको स्वायत्तता कुण्ठित गर्दै राज्य नियन्त्रित अखडा बनाउने नियत सरकारले राख्नु नितान्त गलत छ ।’ भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बांकेलाई संस्थान मातहतमा ल्याउने भनेर गहिरो अध्ययन, बिज्ञ परामर्श र सरोकारवालाहरुसंग कुनै छलफल बिना बजेटमा उल्लेख हुनुले त्यसपछिल्तिरको निश्चित नियतलाई प्रष्ट गरिसकेको छ उसको भनाई छ । गम्भीर विमर्श पश्चात मात्रै उचित विकल्पको निष्कर्ष टुंगो गरिनुपर्ने संवेदनशील बिषयलाई हाल यथास्थितिमा राख्न कांग्रेसले सरकारलाई चेतावनी दिएको छ ।