NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ २० गते

हामीले जिम्मा नपाउँदा टेकोमा अडिएका भौतिक संरचना व्यवस्थापन गर्न सकेनौँ – मेयर शाक्य 

काठमाडौं । काठमाडौं महानगरपालिकाले १९९० माघ २ गते र त्यसपछिको भूकम्पमा परेर दिवंगतहरुको स्मृतिमा आज बिहान भूगोल पार्कमा स्मृति सभा आयोजना गरेको छ । उक्त कार्यक्रममा  कोभिड–१९ संक्रमण बढिरहेको सन्दर्भलाई मध्यनजर गर्दै सभामा २५ जना विशिष्ट व्यक्तिहरुलाई आमन्त्रण गरिएको थियो । सभामा महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडयाल, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु, महानगरको कार्यपालिका सदस्यसहित अधिकारी सहभागी थिए ।  सभामा बोल्दै गृहमन्त्री बालकृष्ण खाँडले, विपद क्षति व्यवस्थापनका लागि संघ, प्रदेश र स्थानीय सरकार आफैँमा सशक्त र अन्तर सरकार र आन्तरिक समन्वयमा बलियो बनाउँदै लानु पर्ने बताए । ‘नागरिक सचेतना र विपद व्यवस्थापन गर्ने कानुनी प्रबन्धबाट सम्भावित क्षति कम गराउन सकिन्छ । प्रकृति र प्राकृतिक संरचनामा मान्छेले दख्खल दिइरहेका छन् । त्यसैकारण कहिलेकाहीँ अप्रत्यासित जोखिम व्यहोर्नु पर्ने अवस्था छ,’ मन्त्री खाँडले भने । उनले भुकम्पीय क्षति कम गराउन सुरक्षित भवन निर्माण र कोविड १९ को संक्रमणबाट बच्न स्थानीय सरकारको महत्वपूर्ण भूमिका हुने बताए ।  कार्यक्रममा बोल्दै काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले, सम्भावित विपद पूर्व तयारीका लागि काठमाडौँ महानगरपालिकाले भवन निर्माण मापदण्ड कार्यान्वयनलाई कडाइ गरिएको बताए । भूकम्पले भौतिक संरचनामा पु-याएको क्षति व्यवस्थापन गर्न महानगरले पूर्ण क्षमतामा काम गर्न नपाएको सन्दर्भ उठाउँदै मेयर शाक्यले भने, ‘काठमाडौँमा अझै पनि टेकाका भरमा सांस्कृतिक संरचना अडिएका छन् । यी संरचना पुरातत्व विभाग र गुठी संस्थानको स्वामित्वमा छन् । महानगरको स्वामित्वमा भएका सबै भौतिक संरचना पुननिर्माण भएको वा निर्माणाधीन अवस्थामा छन् । टेका लगाएका भौतिक संरचना पुननिर्माण गर्न हामीलाई दिनोस्, हामीले अनुरोध गरेका हौँ । तर, जिम्मेवारी पाएनौँ ।’  स्मृति सभामा महानगरको विपद व्यवस्थापन समितिका संयोजक नीलकाजी शाक्यले, वडा स्तरीय विपद व्यवस्थापन समितिमार्फत टोल टोलमा भएका जोखिमको पहिचान गर्ने र सम्भावित विपत्तिका सामना गर्न क्षमता बढाउने काम भइरहेको उल्लेख गरे । ‘२०७२ सालको भूकम्पलको धक्काले सिकाएको पाठ बिर्सियो भने भोलि क्षतिको परिमाण झन् बढ्न सक्छ,’ उनले भने, ‘यसलाई कम गराउन महानगरले सुरक्षित बस्ती विकासको कार्यक्रमलाई जोड दिएको हो ।’  स्मृति सभामा फायर हवल्दार बद्रीप्रसाद अधिकारी, नगर प्रहरी हवल्दार विशेश्वर पण्डित, सशस्त्र प्रहरी सहायक हवल्दार उत्तमहरि श्रेष्ठलाई नगद १५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो । विपद व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठकाअनुसार, आगलागी नियन्त्रणका लागि उनीहरुले पु-याएकाे योगदानको कदर गर्दै सम्मान गरिएको हो ।   १९९० साल माघ २ गतेको बिनाशकारी भूकम्पले पु-याएको क्षति सम्झना गर्दै अबका पुस्ताले यस प्रकारको क्षति व्यहोर्नु नपरोस् भनेर सजग गराइ राख्न यो दिवस मनाउने गरिएको छ । यस प्रकारको सम्झनासँग विगतका गल्ती नदोहो-याउने प्रतिवद्धता जोडिएको छ । त्यस बिनाशकारी भूकम्पले सिकाएको पाठबाट सुरक्षित बस्ती निर्माणमा पुस्तालाई सहभागी गराउने उद्देश्य राखेर २०५५ सालदेखि हरेक बर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो ।  यस बर्ष ‘भूकम्पीय सचेतना, सुरक्षित संरचना’ नारासहित दिवसका कार्यक्रम मनाइँदैछन् । गएको बर्ष “बहु प्रकोपीय विपदमा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा” नारा राखिएको थियो ।  यस बर्षको मुल समारोह स्वास्थ्य मापदण्ड अपनाएर ललितपुरको पाटन दरबार क्षेत्रमा आयोजना गर्ने तालिका छ ।     

ताजा अपडेट

नेपालवाच विशेष