बतासले बनाएको धर्मशाला : एकरात सुतेको ५५ सयसम्म, मन्त्री नै चकित

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले पशुपतिनाथस्थित धर्मशालाको निरीक्षण गरेका छन् । पशुपति क्षेत्र विकास कोषअन्तर्गत रहेको उक्त होटल बतास समूहले सञ्चालन गर्दै आएको थियो । निरीक्षण गर्ने क्रममा उनी होटलको कोठा–कोठामा पुगेका थिए । मन्त्री नै निरीक्षणका लागि उक्त होटलमा पुगे पनि त्यहाँका केही कोठा भने खोल्न नमिल्ने भन्दै खोलिएन । पशुपति दर्शनका लागि आउने भक्तजनलाई सहज होस् भनेर बनाइएको उक्त धर्मशालामा ‘स्पा’सहितका अत्याधुनिक कोठाहरू देखिए । उक्त धर्मशालामा एकरात बसेको ३५० देखि पाँच हजार ५०० सम्म पर्ने कोठा रहेका छन् । भक्तजनको लागि भनेर भारत सरकारको समेत सहयोगमा बनेको उक्त धर्मसालामा अन्य संस्थाका लागि कोठा भाडामा लगाएको निरीक्षणको बेलामा खुलेको छ । नेपाल–भारत मैत्री पशुपति धर्मशालाको उद्घाटन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ०७५ भदौ १५ गने उद्धाटन गरेका थिए । निरीक्षणको सकेपछि आलेले धर्मशाला सात स्टार होटलजस्तो बताएका छन् । ‘यो होटल त पाँच तारे हाइन सात तारेजस्तो रहेछ । यो देखेर म आफै अचम्मित भए’ उनले भने ‘यहाँ भएका कमी–कमजोरी हेर्दैछौ । टेन्डर प्रकृया पनि हेर्दै छौ । साँठगाँठमा भएको रहेछ भने प्रतिवेदनमा सार्वजनिक गर्छौ ।’ उक्त होटल निमार्णका लागि भारत सरकारले २५ करोड भारतीय रूपैयाँ लगानी गरेको थियो भने बाकीँ पैसा नेपाल सरकारले खर्च गरेको थियो । पर्यटक र तीर्थालुलाई सस्तो र सुलभ मूल्यमा बस्न पाउन भनेर बनाइएको हो धर्मशाला निरीक्षण गर्दा पाँच हजार पाँच सय कोठा रहेको भेटियो । उक्त कोठामा दुईजना सुतेमा ११ हजार लिइने गरेकोप्रति मन्त्री आलले आक्रोश पोखे । राजनीतिक प्रतिशोधका कारण पर्यटनमन्त्री बतास समूहको पछि लागेको हो ? भन्ने प्रश्नमा मन्त्री आलेले आफ्नै पार्टीको मान्छेले गल्ती गरेको भए पनि नछोड्ने बताए । ‘म कोहीसँग पूर्वाग्रही भएर यहाँ आएको होइन । म सेवाको लागि आएको हो’ उनले भने, ‘तीन करोड नेपालीको हकहितको लागि आएको ।’ सहमतिभन्दा बाहिर गएर बनेका संरचनालाई के गर्ने भनेर प्रतिवेदन आएपछि निर्णय गर्ने उनले बताए । उक्त धर्मशाला गैरकानुनी रुपमा बतास समूहलाई दिइएको भए त्यससँग सम्बन्धित सबैलाई कारबाहीको दायरामा ल्याउने बताए । नेपाल–भारतमैत्री धर्मशालामा बतास समूहले व्यापार गर्दै आइरहेको विषयमा छानबिन गर्नका लागि मन्त्री आलेले समिति नै गठन गरेका छन् । उक्त धर्मशाला होटलका रुपमा सञ्चालन गरेको आरोप लागेको छ । सात दिनभित्र प्रतिवेदन पेश गर्नेगरी छानबिन हुँदैछ । छानविन गर्नका लागि पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजकत्वमा समिति गठन गरिएको थियो । समितिले सोमबार प्रतिवेदन सार्वजनिक गर्दैछ ।
प्रतिक्रिया