१४ औँ महाधिवेशनपछि पार्टीमा कुनै असहजता छैन : गच्छदार

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारले भर्खरै सम्पन्न नेपाली कांग्रेसको १४औँ महाधिवेशनपछि पार्टीमा कुनै असहजता नरहेको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरागर्दै उनले पार्टी सभापति शेरबहादुर देउवाले पहिलो चरणमा केन्द्रीय समितिमा केहीलाई मनोनित गरिसकेको प्रसङ्ग उल्लेख गरे । उनले अधिवेशनको दौरानमा पार्टीका कार्यकर्ताबीचमा देखिने दूरी स्वभाविक भएको र यो विस्तारै कम हुँदै जाने विश्वास व्यक्त गरे । पार्टीमा स्थानीय तहदेखि केन्द्रसम्म स्वस्थ प्रतिस्पर्धा भएकोले केही उतार चढाव हुनु स्वभाविक हो भन्दै यसलाई आफूले पनि स्वाभाविक रुपमा लिएको गच्छदारले स्पष्ट पारे । उनले आगामी निर्वाचनमा पार्टी एकढिक्का भएर लाग्नुपर्ने धारणा पनि राखे । उनले तीनै तहको निर्वाचन एकै पटक वा अलगअलग गर्ने भन्ने विषयमा निर्वाचन आयोगले तयारी गरिरहेको पनि बताए । अधिवेशनका दौरानमा देखिएका नकारात्मक कुरालाई विर्सेर नेतृत्व पङ्क्ति एवं आम कार्यकता र नेताहरु आगामी दिनमा एक ढिक्का भइ अघि बढ्नुपर्ने उनको सुझाव थियो ।
प्रतिक्रिया