अव्यवस्थित सहरीकरण नै भूकम्पीय जोखिमको प्रमुख कारण बन्न सक्छ : प्रधानमन्त्री

ललितपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा दिनानुदिन बढ्दै गइरहेको अव्यवस्थित सहरीकरण नै भूकम्पीय जोखिमको मुख्य कारण बन्न सक्ने चिन्ता व्यक्त गरेका छन् । चौबीसौँ भूकम्प सुरक्षा दिवस, २०७८ का अवसरमा आज आयोजित कार्यक्रममा उनले भूकम्पीय जोखिम घटाउन पूर्वाधार निर्माणमा विशेष ध्यान दिनुपर्ने बताए । उनले भने, “विसं २०७२ को भूकम्पमा देखेका र भोगेका कुरालाई मनन गरेर आउँदा दिनमा यसबाट जोगिने योजना तयार गर्नुपर्नेछ ।” भूकम्प तथा आगलागी तथा बाढीपहिरोजस्ता प्राकृतिक विपद्को क्षति न्यूनीकरणका लागि तीनै तहका सरकारबीच सहकार्य अति नै जरुरी रहेको उहाँको भनाइ छ । सो जोखिमबाट मुलुकवासीको रक्षा गर्न दक्ष जनशक्ति परिचालन गर्न सबै स्थानीय तहले तयारी अवस्थामा रहिरहनुपर्ने प्रधानमन्त्री देउवाले आग्रह गरे । गृहमन्त्री बालकृष्ण खाणले भूकम्पीय जोखिमका दृष्टिले मुलुक ११आँै नम्बरमा रहेको जानकारी गराउँदै सोबाट सुरक्षित रहन बलियो संरचना निर्माणमा सबैले लाग्नुपर्ने बताए । उनले भने, “देशभर पटक–पटक गरी आउने प्राकृतिक विपत्तिबारे जानकारी लिन पूर्वसूचना प्राप्त गर्ने संयन्त्रलाई जडान गरेर थप प्रभावकारी बनाउनेछाँै ।” ललितपुर महानगरपालिकाले जस्तै मुलुकमा रहेका अन्य बाँकी पालिकाले समेत भवन निर्माण संहिता लागू गर्नसके जोखिम कम हुने उनको भनाइ थियो । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आगामी दिनमा आउने भूकम्पको जोखिम कम गराउन बलियो भवनले मात्रै पर्याप्त नहुने भन्दै सोसँगै भूगोलको संरचनाप्रति पनि संवेदनशील हुनुपर्ने धारणा राखिन् ।
प्रतिक्रिया