श्रममन्त्री श्रेष्ठद्वारा वैदेशिक रोजगार कार्यालयको अनुगमन

काठमाडौं । वैदेशिक रोजगार विभागअन्तर्गत वैदेशिक रोजगार कार्यालय काठमाडौंबाट आइतबारदेखि अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृति जारी गर्न थालिएपछि पहिलो दिन अनलाइनबाट ८ सय ५५ जना सेवाग्राहीले पुनः श्रम स्वीकृतिको सेवा लिएका छन् । वैदेशिक रोजगार कार्यालयमा अहिले विचौलियालाई निषेध गरिएको छ भने पुनः श्रम स्वीकृतिको काम अनलाइन प्रणालीबाट गर्न थालिएपछि कार्यालयमा हुने भीड हटेको सरकारी दाबी छ । आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सचिव एकनारायण अर्यालसहितको टोलीले कार्यालयमा अनलाइन प्रणालीबाट सुरु गरिएको पुनः श्रम स्वीकृति जारी गर्ने कार्यको अनुगमन गरेका थिए । सो क्रममा मन्त्री श्रेष्ठले श्रम स्वीकृतिलाई छिटो, छरितो र पारदर्शी रुपमा गुनासो रहित सेवाप्रवाह गर्न निर्देशन दिएका थिए । मन्त्री श्रेष्ठले आफूले मन्त्रालयमा सुधारको अभियान सञ्चालन गरेको बताउँदै अनलाइन प्रणालीको सफलता महत्वपुर्ण उपलब्धि भएको बताए । उनले अनलाइन प्रणालीबाट सफलतापूर्वक सेवा प्रवाह सुरु गरेकोमा कर्मचारीहरुलाई धन्यवाद दिए । यसअघि श्रम स्वीकृति नवीकरणका लागि ४ चरणको व्यवस्थालाई २ चरणबाट सम्पन्न गर्ने गरिएको छ । कार्यालयले संस्थागत श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृति दिने गरेको छ । औसतमा कार्यालयबाट प्रतिदिन १५ सय ६५ जनाको अन्तिम श्रम स्वीकृति जारी हुने गरेको मन्त्रालयको भनाइ छ ।
प्रतिक्रिया