NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २८ गते

एमाले उपाध्यक्ष पौडेलका छोरा नवीन र न्यायाधीश रेग्मीमाथि कारबाहीको माग गर्दै युवा संघले दियो अख्तियारमा निवेदन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)निकट युवा संघ, नेपालले काठमाडौंको बालुवाटारस्थित ललिता निवास क्याम्पको सरकारी स्वामित्वको जग्गा गैरकानूनी रूपमा आफ्नो पक्षमा पार्न खोज्नेहरूमाथि कारबाहीको माग गरेको छ ।  संघले आज अख्तियार टंगालस्थित दुरुपयोग अनुसन्धान आयोगमा गएर निवेदन दिँदै सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलका छोरा नवीनमाथि कारबाही गर्न माग गरेको हो ।  ललिता निवासको जग्गा न्यायाधीश रेग्मी र नवीनले आफ्नो नाममा पास गराएको प्रमाणित भएर पछि फिर्ता गरको र आयोगले उनीहरूमाथि मुद्धा नचलाउने निर्णय गरेकोप्रति आफूहरूको असन्तुष्टि रहेको संघका उपमहासचिव एवं प्रवक्ता सञ्जीप राईले बताए ।   ‘यति महत्वपूर्ण कुरामा ललिता निवास, बालुवाटारभित्र पर्ने सरकारी जग्गा हिनामिना गर्ने व्यक्ति कुमार रेग्मी र नवीन पौडेललाई गैरकानूनी रुपमा जग्गा फिर्ताको बाहना बनाएर उन्मुक्ति दिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णयलाई  युवा संघ नेपालले गम्भीर रूपमा लिएको छ र यो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निश्पक्ष, न्यायिक निश्कर्ष र निर्णय नभएको तथा यसमा गम्भीर तोडमोड भएको देखिन्छ । यसले स्वयं अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महत्व, गरिमा र अस्तित्व मैं प्रश्नचिन्ह लगाउँछ, यस्तो निर्णयले दिर्घकालमा भ्रष्टहरुलाई प्रोत्साहित गर्छ’ संघले आज अख्तियारमा बुझाएको निवेदनमा भनिएको छ ।  युवा संघले आयोगको व्यक्ति विशेषलाई कानूनी कारवाहीबाट उन्मुक्ति दिने उदेश्यले समान विषयको अनुसन्धानमा असमान अनुसन्धान गर्न नमिल्ने भन्दै उनीहरूलाई समेत कानूनी कारवाहीको दायरामा ल्याउनुपर्ने माग गरेको हो ।  ‘व्यक्ति विशेषलाई उन्मुक्ति दिनेगरी आयोगबाट निर्णय हुनु संवैधानिक व्यवस्थाको दुरुपयोग हो हाम्रो ठहर छ’, संघका अध्यक्ष नरेश शाहीको नाममा दिइएको निवेदनमा भनिएको छ । ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई पनि मुछिएका छन् । एमाले महासचिव पौडेलका छोरा नवीन र न्यायाधीश रेग्मीमाथि कारवाहीको माग गर्दै आज निवेदन दिने युवा संघ पूर्वप्रधानमन्त्री नेपाल नेतृत्वकै एकीकृत समाजवादीको भातृ संगठन हो ।

ताजा अपडेट

नेपालवाच विशेष