सिंहदरबारमा कोभिड–१९ : मन्त्रिपरिषद्का ४० कर्मचारीलाई पोजेटिभ

काठमाडौँ । कोभिड–१९ को तेस्रो लहरमा देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार सबैभन्दा बढी प्रभावित बनेको छ । करिब एक तिहाई कर्मचारीमा संक्रमण फैलिएको र संक्रमित हुने क्रम बढिरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता महादेव पन्थले नेपालवाचसँग बताए । प्रवक्ता पन्थका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पछिल्लो समय २ सय कर्मचारीमा कोभिड परिक्षण गर्दा ४० जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितको संख्या बढेपनि अहिलेसम्म सिकिस्त अवस्थामा कोही नपुगेको र उनीहरुलाई होम आइसोलेसनमा पठाएको सहसचिव पन्थले बताए । ‘केही साथीहरुमा संक्रमण भेटिएपछि प्रधानमन्त्री कार्यालयका करिब २ सय कर्मचारीमा परिक्षण गरेका थियौँ, त्यसमध्ये ४० जनामा सक्रमण पुष्टि भयो ।, नेपालवाचसँग कुरा गर्दै पन्थले भने, ‘संक्रमित भएकाहरु आइसोलेसनमा हुनुहुन्छ ।’ कन्ट्याक ट्रेसिङमा परेकाहरुलाई एन्टीजेन टेष्ट गर्दै काममा लगाएको मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । अहिलेसम्म काम रोक्नु पर्ने स्थिती नरहेको उनले बताए । प्रवक्ता पन्थका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तीन जना सचिव संक्रमित भएका छन् । सचिवहरु रामप्रसाद थपलिया, शिषिर ढुंगाना र कृष्ण राउतमा संक्रमण पुष्टि भएको हो । यस्तै सामान्य प्रशासन तथा संघिय मामिला मन्त्रालयमा पनि १० जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीले संक्रमित हुने कर्मचारीको संख्या हरेक दिन बढ्दै गएको खबरहरु आइरहेको बताए । अधिकारीले संक्रमित हुनेको संख्यामा बृद्धि भए सरकारले थप निर्णय गर्न सक्ने बताए । ‘अहिले काम कारबाही रोक्ने अवस्थामा छैनौँ । नियमित काममा छौँ ।, प्रवक्ता अधिकारीले भने, ‘सकेसम्म कुनै पनि काम नरोकिने गरेर व्यवस्थापन गर्दै आएका छौँ ।’
प्रतिक्रिया