NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

रेग्मीलाई निलम्बन गर्न तीन बुँदे आरोप तयार : अदालतमा मुद्दा पर्दा कारबाही रोकियो 

काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत९सिइओ० धनञ्जय रेग्मीमाथि भइरहेको छानविन लगभग टुंगिएको छ । लण्डनमा भएको विश्व पर्यटन बजार मेलाबाट फर्किएलगत्तै विमानस्थलका कर्मचारीमाथि हातपात गरेर विवादमा आएका उनीमाथि विभिन्न आर्थिक अनियमितताका आरोप लागेका थिए । सोही अनियमितताबारे छानविन गर्न बोर्डका उपाध्यक्ष चन्द्र रिजालको संयोजकत्वमा बनेको समितिले अनुसन्धान टुंगो लगाएको हो ।  छानविनकै क्रममा रेग्मी सुन तस्करमा समेत संलग्न भएको विवरण सार्वजनिक भएको छ । छानविन समितिले रेग्मी सुन तस्कर प्रकरणमा मुछिएको केही दस्तावेज सहितको विवरण अनौपचारिक रुपमा संचारमाध्यमको प्रयोग गरी सार्वजनिक गराइसकेको छ । छानविन समितिका एक सदस्यकाअनुसार रेग्मी यसअघि सुन प्रकरणमा पनि संलग्न भएको छानविनका क्रममा भेटिएको हो । उनी उक्त प्रकरणमा मुछिएको विवरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई पठाइसकेको छ ।  भन्सार कार्यालयले पठाएको उक्त पत्रअनुसार रेग्मीले ७ पुस ०७४ मा कतार एयरवेजको उडान नम्बर क्युआर ७३० बाट नेपाल आउँदा बिस्कुट आकारका तीन थान सुन ल्याएका थिए । त्यहाँ ३ सय ग्राम सुन रहेको दावी छ ।  यसरी रेग्मीले ल्याएको उक्त सुन अवैध भएको भन्दै उनलाई दोषी ठहर गरी जरिवानासमेत तिराइएको थियो ।  छानविन समितिले रेग्मी सुन तस्करी प्रकरणमा मुछिएको सन्दर्भलाई मुख्य हतियार बनाउने गरी प्रतिवेदन तयार पारेको छ ।  यस्तै दोस्रो आरोपका रुपमा रेग्मीले आफ्नो सचिवालय मर्मत तथा सजावटका नाममा करिब २५ लाख रूपैयाँ हिनामिना गरेको प्रतिवेदनमा उल्लेख छ । सचिवालय कक्ष मर्मत तथा सजावट गर्दा खर्चभन्दा बढी विल पेश गरेर अनियमितता गरेको छानविन समितिको निष्कर्ष छ ।   सार्वजनिक खरिद ऐन विपरित जथाभावी खर्च गरी २५ लाख रूपैयाँ हिनामिना गरेको छानविनमा देखिएको हो ।  त्यस्तै तेस्रो नम्बरमा रेग्मीले लण्डनमा डब्ल्यूटिएमको कार्यक्रममा जाँदा बोर्डको कोषबाट ८० लाख रूपैयाँ हिनामिना गरेको पाईएको छानविन समितिको रिर्पोटमा उल्लेख छ ।  लण्डनमा भएको विश्व पर्यटन बजार मेलामा जाँदा उनले पर्यटन बोर्डको नाममा भारी रकम हिनामिना गरेको छानविनमा भेटिएको छ । पुस २ गते बोर्ड बैठकले १५ दिनमा सकिनेगरी प्रतिवेदन बुझाउन समितिलाई निर्देशन दिएको थियो । तर, आफ्नो निलम्बनविरुद्ध रेग्मीले सर्वोच्च अदालतमा मुद्दा दायर गरेपछि अदालतले यसमा अल्पकालिन आन्तरिम आदेश दिएको थियो । सो आदेशसँगै उनी पुनः नियमित काममा फर्किएका छन् । अदालतमा मुद्दा विचाराधीन भएका कारण अहिले छानविन प्रतिवेदन सार्वजनिक गर्न नमिल्ने ती सदस्यले बताए ।

ताजा अपडेट

नेपालवाच विशेष