NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

छानविन समितिको निष्कर्ष : पशुपति धर्मशालामा बतासको सम्झौता खारेज योग्य  

काठमाडौं । पशुपति धर्मशाला छानविन समितिले बतास समुह र पशुपति क्षेत्र विकास कोषवीच भएको सम्झौता खारेज गर्न सुझाव दिएको छ ।  समितिले धर्मशालामा बतास समूहले होटल संचालन गर्ने गरी भएको सम्झौता प्रक्रिया विपरित भएको निष्कर्ष निकाल्दै खारेज गर्न सुझाएको हो ।  छानविन समितिले आज (सोमबार) संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पत्रकार सम्मेलन गरेर प्रतिवेदन सार्वजनिक गर्दैछ । कोषको सञ्चालक परिषदको बैठकले कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको थियो । समितिले आज प्रतिवेदन पेश गर्दैछ ।  नेपालवाचसँग कुरा गर्दै छानविन समितिका एक सदस्यले भने, ‘टेण्डर गर्दा नै प्रक्रिया पुरा गरेको पाइएन । टेन्डर प्रक्रिया पशुपति क्षेत्र विकास कोष परिषद्कोे बैठकबाट पास हुनुपर्छ, तर परिषद्को बैठकबाट पास भएकै छैन । त्यो प्रक्रिया नै त्रुटिपूर्ण छ ।’ छानविन समितिले सुरुदेखि नै प्रक्रिया नमिलेको र गलत मनशायले गरिएको सम्झौता खारेज  गर्न उपयुक्त हुने सुझाव दिएको हो ।  यस्तै पशुपति क्षेत्र विकासकोषसँगको सम्झौताअनुसार संरचना बनाउँदा पनि मापदण्ड पूरा नगरेको छानविन प्रतिवेदनको निष्कर्ष छ ।  प्रक्रिया मिचेर संरचना बनाउने काम भएकाले सम्झौता नै खारेज गर्ने पक्षमा मन्त्री आले पुगेको पशुपति क्षेत्र विकास कोषका एक पदाधिकारीले नेपालवाचलाई बताए । ती सदस्यकाअनुसार प्रतिवेदन सार्वजनिक भएसँगै बताससँगको सम्झौता खारेज गर्न मन्त्री आलेले तयारी अघि बढाइसकेका छन् ।  नेपाल भारतमैत्री उक्त धर्मशालामा बतास समूहले केही बर्षदेखि होटल सञ्चालन गर्दै आइरहेको छ । केही दिन अघि नारायणहिटी संग्राहलयभित्र बतास समूहले बनाउँदै गरेको क्याफेटेरियाको काम रोकेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको निशाना धर्मशालातिर पुगेको थियो ।  पशुपतिनाथ मन्दिर दर्शनका लागि आउने तीर्थालु पर्यटकका लागि बनाइएको धर्मशालामा बतास समूहलाई व्यापार गर्न दिएकोबारे आलोचना हुँदै आएको थियो ।  यसबारे छानविन प्रतिवेदन सार्वजनिक गरे लगत्तै मन्त्री प्रेम आले बताससँगको सम्झौता खारेज गर्ने पक्षमा छन् । आइतबार आफैं धर्मशालाको निरिक्षणमा पुगेका मन्त्री आलेले निरिक्षणपछि धर्मशाला त ‘सेभेन स्टार’ होटलजस्तो भएको टिप्पणी गरेका थिए । पशुपति विकास कोषलाई सञ्चालनको जिम्मा दिइएको उक्त धर्मशाला कोषले सञ्चालन नगरेर बतास समूहलाई भाडामा दिएको थियो ।  अहिले बतास समूहले चलाइरहेको ‘होटल आनन्द’ मा खान बस्नका लागि मात्रै ५५ सय रूपैयाँसम्म तिर्नुपर्छ । 

ताजा अपडेट

नेपालवाच विशेष