सञ्चार श्रमिकका मुद्दा एकीकृतरूपमा उठाउन सरोकारवाला सहमत

काठमाडौं । सञ्चार क्षेत्रका श्रमिकका मुद्दालाई एकीकृतरूपमा उठान गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । सञ्चार श्रमिकका मुद्दा उठानका लागि दर्जनाँै सङ्घ–सङ्गठन भए पनि एकीकृतरूपमा हुन नसकेको ठहर गर्दै उनीहरुले एकीकृतरूपमा उठान गर्नका लागि संयुक्त संयन्त्रको आवश्यकता औँल्याएका छन् । पत्रकारका विभिन्न सङ्घ–सङ्गठनका प्रतिनिधिसँग छलफल गर्न युनिमी नेपालले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सहभागीले सबै सङ्घ–सङ्गठनले आ–आफ्नो तरिकाले पत्रकार तथा सञ्चार श्रमिकका अधिकारका लागि सङ्घर्ष गरे पनि सन्तोषजनक उपलब्धि हुन नसकेको उल्लेख गरेका थिए । श्रमिकहरूको अन्तर्राष्ट्रिय सङ्गठन युएनआईको एसिया प्यासेफिक महासचिव राजेन्द्रकुमार आचार्यको आतिथ्यतामा भएको छलफलमा युनिमी नेपालका अध्यक्ष गोविन्द धितालले युएनआई र युनिमीको परिचय गराउँदै ती सङ्गठनले नेपालमा गरिरहेका गतिविधिका बारेमा जानकारी गराएका थिए । महासचिव आचार्यले अन्तर्राष्ट्रियस्तरमा ट्रेड युनियनको क्षेत्रमा भइरहेको विकास र अभ्यासका बारेमा चर्चा गरेका थिए । उनले अन्य देशको तुलनामा नेपालमा श्रमिक पर्याप्त मात्रामा सङ्गठित हुन नसकेको र अधिकारकै बारेमा पर्याप्त जानकारी नभएकाले माग्न नसक्ने गरेको बताए । युएनआई नेपालका अध्यक्ष शङ्कर लामिछाने अरु बेला जुन–जुन पार्टीको झण्डा बोके पनि श्रमिकको मुद्दामा एकै ठाउँमा हुने वातावरण बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले नेपालका ठूला सञ्चारगृहमा भएका समस्या समाधानमा युनिमीले अग्रणी भूमिका खेलेको चर्चा गर्दै सबै सङ्गठनलाई अझ घच्घच्याउन आवश्यक रहेको धारणा राखे । उनले सञ्चार श्रमिक तथा पत्रकारका अधिकारका लागि काउन्सिलले खेल्न सक्ने भूमिकाप्रति आफू सधैँ तयार रहेको उल्लेख गरे । समाजवादी प्रेस सङ्गठन नेपालका अध्यक्ष शम्भु श्रेष्ठले राजनीतिक दल निकट पत्रकारका सङ्गठनसँग युनिमीको सम्बन्ध कस्तो हुन्छ भन्ने प्रश्न गरे । उनले श्रमिकले अधिकार माग्ने नाममा अराजकता बढ्दै गएकाले श्रमिकको आचारसंहिता पालना हुनुपर्नेमा जोड दिए । । प्रेस चौतारी नेपालका वरिष्ठ उपाध्यक्ष माधव नेपालले श्रमजीवीले आफ्नै अधिकारका लागि पनि लड्न, अग्रसर हुन नसकेको भन्दै चिन्ता व्यक्त गरे । मिडिया एड्भोकेसी ग्रुपकी संस्थापक अध्यक्ष तथा वरिष्ठ पत्रकार बबिता बस्नेतले काम गर्ने सिलसिलामा महिलामाथि मात्र नभई पुरुषमा पनि हिंसा हुने गरेकाले सबैका हिंसाका विषयमा आवाज उठाइरहनुपर्नेमा जोड दिइन् । श्रमजीवी पत्रकार सङ्घका अध्यक्ष जन्मदेव जैशीले सङ्गठनमा लागेका पत्रकार तथा श्रमिक नै आफ्नो कार्यालयमा सुरक्षित नभएकाले एकले अर्काका लागि सङ्घर्ष गरिदिनुपर्ने बताए । काठमाडौं विश्वविद्यालयका प्राध्यापक तथा ट्रेड युनियनका जानकार डा काशीराज पाण्डे विश्वविद्यालयले श्रमिकको अधिकारका विषयलाई पाठ्यक्रममा नै समावेश गर्नुपर्ने खाँचो औँल्याए । कार्यक्रममा आदिवासी जनजाति पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष गजुरधन राई, मधेशी पत्रकार समाजका अध्यक्ष मोहनकुमार सिंह, सञ्चारिका समूहका महासचिव विमला तुम्खेवा, डब्लुडब्लुजेका कार्यवाहक अध्यक्ष सङ्गीता लामा, युनिमीका महासचिव जीवन भण्डारीलगायतले पनि सञ्चार श्रमिकका अधिकारलाई स्थापित गराउने उपायका बारेमा धारणा राखेका थिए ।
प्रतिक्रिया