NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

धुर्मुस–सुन्तली फाउण्डेसनले भन्यो, ‘रकमको दुरूपयोगबारे सोच्न पनि सक्दैनौं’

काठमाडौं । धुर्मुस–सुन्तली फाउण्डेसनविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि फाउण्डेसनले आफ्नो पक्षमा खण्डन गरेको छ । सामाजिक सेवाको नाममा क्रिकेट रंगाशाला बनाउन आर्थिक अनियमितता गरेको भन्दै भरतपुरका क्रिकेट प्रशिक्षक अनिल अधिकारीले आयोगमा उजुरी हालेका थिए । यही आरोप उपर स्पष्टीकरण दिँदै फाउण्डेसनले प्राप्त रकमको दुरुपयोगबारे सोच्न पनि नसक्ने जनाएको छ । योसँगै हेकी दिनमै फाउण्डेसनबाट भएको आर्थिक प्रगतिबारे खर्चको लेखापरीक्षण भइरहेको र आज–भोलिमै उक्त प्रतिवेदन  उपलब्ध गराइने जानकारी दिएको छ ।  साथै उक्त परियोजनामा कुनै प्रकारको अनियमितता र गलत कार्यको गुञ्जायस नरहेको पनि दाबी गरेको छ ।  केही दिनयता परियोजनासँग सम्बन्धित वास्तविकता नबुझी भ्रमपूर्ण समाचार प्रकाशन भइरहेकोमा फाउण्डेसनले आपत्ति जनाएको छ । आफ्नोतर्फबाट आर्थिक विवरण सार्वजनिक नभएसम्म आरोप लगाउन बन्द गर्न फाउण्डेसनको अपिल छ ।  यस्तो छ फाउण्डेसनको प्रष्टीकरण :  हाम्रो अनुरोध राष्ट्रिय गौरवको परियोजनाका रुपमा क्रिकेट र समग्र खेल क्षेत्रको विकासका लागि धुर्मुस–सुन्तली फाउन्डेसन र भरतपुर महानगरपालिकाको सहकार्यमा तीन वर्षअघि गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण परियोजनाको थालनी भएको सर्वविदितै छ । २०७५ साल माघ १६ गते राष्ट्रिय सभा गृह काठमाडौंबाट तत्कालीन प्रधानमन्त्री एवं विभिन्न दलका शीर्ष नेताका साथै विभिन्न विधाका राष्ट्रिय व्यक्तित्वहरुको समुपस्थितिका बिच सम्झौतापत्रमा हस्ताक्षर भएर काम सुरु गरिएको थियो ।  कोरोना महामारी तथा अनेकौं आरोह–अवरोहका बाबजुद पनि रंगशाला निर्माणको काम निरन्तर अघि बढिरहँदा स्रोत व्यवस्थापनको पाटो भने चुनौतिपूर्ण बन्दै गयो । अपेक्षित  जनसहयोग जुट्न सकेन । विगत ५ महिनादेखि निर्माण सामग्री उपलब्ध गराउन नसकेको अवस्था र विभिन्न कम्पनीहरुलाई भुक्तानी गर्नुपर्ने बक्यौता रकम बढ्दै गएपछि अन्ततः संरचना अन्तरगतको निर्माण कार्य स्थगित  गर्न वाध्य हुनु पर्यो । यसको उचित निकासका लागि फाउन्डेसनले युवा तथा खेलकुद मन्त्रालय, अर्थ मन्त्रालय र भरतपुर महानगरपालिकासँग पटकपटक छलफल गरी भरतपुर महानगरपालिकामा गत पुस २ गते स्वामित्वग्रहणको लागि अनुरोधपत्र बुझाइएको हो । सोभन्दा पहिले २०७८ साल मङ्सिर २१ गते भरतपुर महानगरपालिकाले फाउन्डेसनलाई पत्राचार गरेअनुरुप फाउन्डेसनको तर्फबाट २०७८ साल मङ्सिर २३ गतेसम्मको  अनुमानित आम्दानी–खर्चको विवरण, भुक्तानी दिनुपर्ने रकम र सोको विवरण तथा २०७८ साल असार मसान्तसम्मको लेखापरिक्षण प्रतिबेदन र भौतिक प्रगति प्रतिवेदन बुझाइएको थियो ।  गत पुस २ गतेको निर्णयपश्चात भरतपुर महानगरपालिकाको तर्फबाट दुवै प्रतिवेदनको मुल्यांकन शुरु गरी भौतिक प्रगतिको प्रारम्भिक प्रतिवेदन आएको छ भने त्यसलाई पुर्ण बनाउन थप मुल्यांकन भइरहेको छ । आर्थिक प्रगति सम्वन्धमा फाउन्डेसनको तर्फबाट शुरूवाति दिनदेखि ०७८ पुस मसान्तसम्मको सम्पूर्ण खर्चको लेखापरिक्षण धमाधम भइरहेको र सोको प्रतिवेदन आजभोलिमै फाउन्डेसनमा उपलब्ध हुने जानकारी गराउन चाहन्छौं । उक्त प्रतिवेदन सम्वन्धित पक्षलाई बुझाएर फाइनल भएपछि परियोजनाको वास्तविक आम्दानी–खर्च सार्वजनिक गरिनेछ ।  स्वदेश तथा विदेशमा रही परियोजनालाई सहयोग गर्नुहुने सहयोगी मनहरुका कारणले नै रङ्गशाला निर्माण यो अवस्थासम्म आइपुगेको छ । सहयोगी मनहरुबाट प्राप्त रकमको दुरुपयोग हामी सोच्न पनि सक्दैनौं । परियोजनामा कुनै प्रकारको अनियमितता र गलत कार्यको गुञ्जायस नरहेकोमा सबैलाई आश्वस्त तुल्याउन चाहन्छौं ।  हाल सरकारी मूल्यांकनको कार्य चलिरहेको र परियोजना विधिवतरुपमा हस्तान्तरण भइनसकेको हुनाले उक्त हस्तान्तरण प्रक्रिया सम्पन्न भएपश्चात हामी सबै विवरण सार्वजनिक गर्ने नै छौं । अहिलेलाई हामी मूल्यांकनको सहयोगी बनेर अघि बढेका छौं ।   पछिल्लो समय परियोजनासम्बन्धी वास्तविकता नबुझी भ्रमपूर्ण रुपमा प्रकाशन÷प्रशारण गरिएका समाचार, टिकाटिप्पणी तथा अन्य गतिविधिलाई लिएर हामी अत्यन्त चिन्तित र दुखी छौं । हाम्रोतर्फबाट आर्थिक लगायतका सबै विवरण सार्वजनिक नहुञ्जेलसम्म कपोलकल्पित आरोपहरु बन्द गरी परियोजनालाई माया गरिदिनुहुन हार्दिक अपिल र अनुरोध गर्दछौं ।    

ताजा अपडेट

नेपालवाच विशेष