एनआरएनएले दियो सुदूरपश्चिमलाई ‘मोबाइल ब्लड बैंक बस’, सबै प्रदेशमा पुर्याउने लक्ष्य

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सुदूरपश्चिम प्रदेशका लागि ‘मोबाइल ब्लड बैंक बस’ हस्तान्तरण गरेको छ । धनगढीमा आज आयोजित एक कार्यक्रममा संघका अध्यक्ष कुमार पन्तले धनगढी उपमहानगरपालिकाका मेयर नृप ओडमार्फत कैलाली रेडक्रस अध्यक्ष उत्तम जोशीलाई सो बस हस्तान्तरण गरेका हुन् । कार्यक्रममा एनआरएनएका संरक्षक जीवा लामिछाने, उपाध्यक्ष डा. बद्रि केसी, महासचिव डा. हेमराज शर्मा, प्रवक्ता डिबी क्षेत्री, मानार्थ सदस्य धर्मराज अधिकारी, शनिकुमार ओली र सल्लाहकार कुल आचार्यलगायत एनआरएन अभियन्ता सहभागी थिए । विदेशस्थित गैरआवासीय नेपालीहरूको सहयोगमा खरिद गरिएको बसको कुल लागत ६० लाख रहेको संघले जनाएको छ । ‘मोबाइल ब्लड बस’ परियोजनामा हालका सचिव गौरीराज जोशी संयोजक र अफ्रिकावासी आइसिसी पूर्वकोषाध्यक्ष हिक्मत थापा सहसंयोजक थिए । आधुनिक प्रविधिसहितको बसबाट लामो दूरीका रक्त संकलन स्थलमा गएर बसभित्रै रक्तदान गर्ने, संकलन गर्ने र सुरक्षित रुपमा ब्लड बैंकसम्म ल्याउन सक्ने सुविधा रहेको छ । एनआरएनएले नेपालमा मानव कल्याणकारी योजनाअन्तर्गत पहिलो घुम्ती रगत बस भरतपुर महानगरपालिकामार्फत् चितवन रेडक्रसलाई हस्तान्तरण गरिसकेको छ । आगामी दिनमा सबै प्रदेशमा बस पुर्याउने लक्ष्य राखेको बताएको छ ।
प्रतिक्रिया