NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

बतास प्रकरणमा सबै नेता मौन 

काठमाडौं । करिब २ हप्तादेखि बतास फाउण्डेसन चर्चामा छ । यसअघि गुमनाम बतास नारायणहिटीमा क्याफेटेरीया बनाउने कार्य सुरु गरेपछि एकाएक चर्चामा आएको हो ।  उक्त फाउण्डेसनले नारायणहिटीमा मात्रै होइन, पशुपति क्षेत्र विकास कोषअन्तर्गतको धर्मशाला भाडामा लिएर अत्यधिक भाडा असुलेको आरोप छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले मगर बतास समूहको यस्ता कार्यविरुद्ध हात धोएर लागेका छन् । तर अन्य नेता भने चुपचाप रमिता हेरेर बसेका छन् ।  प्रधानमन्त्री पत्नी आरजु राणाको नाम बतास समूहको सल्लाहकारको रूपमा थियो । बतास विवादमा आएपछि उनको नाम मात्रै  हटेन, वेबसाइट नै बन्द गरियो । नाम जोडिएपछि राणाले आफू ६ संस्थामा सल्लाहकार भएको तर बतास समूहमा आबद्ध नरहेको सामाजिक सञ्जालमार्फत प्रष्टीकरण दिइन् । यता, बतास समूहका संयोजक आनन्द बतासले राणा पहिले सल्लाहकार भएको र वेभसाइटमा उनको नाम हटाउन भुलेको बताउँदै आएका छन् ।  बताससँग श्रीमतीको नाम जोडिए पनि प्रधानमन्त्री शेरबहादुर देउवा मौन छन् । नारायणहिटी संग्रहालय भाडामा दिने निर्णय पूर्ववर्ती एमाले नेतृत्वको सरकारले गरेको थियो । जसमा योगेश भट्टराईको स्पष्ट संलग्नता देखिएको छ । आफू नेतृत्वको सरकार र पार्टीका नेता यो प्रकरणमा मुछिए पनि एमाले नेताहरूले प्रतिक्रिया दिनसम्म आवश्यक ठानेका छैनन् ।  पर्यटन मन्त्री छँदा बतासले नारायणहिटी भाडामा लिएको विषय बाहिरिएपछि योगेश भट्राइले प्रतिरोध गरेका थिए । तर तथ्यहरूले उनको दाबी गलत सावित गरिदियो । उनले नै क्याफेटेरीया सञ्चालन गर्न अनुमति दिएको प्रमाण विभिन्न समाचारमाध्यममा प्रकाशन, प्रसारणपछि भट्टराई र उनका कुनै बेलाका सहयात्री आलेविरुद्ध खनिएका छन् । सांस्कृतिक महत्त्वका सम्पदामाथिको दोहनविरुद्ध खरो उत्रिरहँदा आफू सम्बद्ध दल एकीकृत समाजवादीबाटै आलेले अपेक्षित साथ पाएका छैनन् । अन्य विषयमा तत्काल धारणा सार्वजनिक गर्ने सो पार्टीका अध्यक्ष अध्यक्ष माधवकुमार नेपालले अहिलेसम्म यसबारे बोल्न आवश्यक ठानेका छैनन् । अन्य नेताले पनि दुरुस्त उनले जस्तै मौनतामा रुचि देखाएका छन् । चर्चित विषयमा आफ्नो विचार राखिहाल्ने गनन थापाले पनि अहिलेसम्म मुख खोलेका छैनन् । विश्वप्रकाश शर्माको अवस्था पनि उस्तै छ ।  नेकपा एमालेका अध्यक्ष केपी ओलीले पनि यो सामग्री तयार पार्दासम्म यसबारे टिप्पणी गरेका छैनन् ।  देउवाको मान्छे हुँ, ओलीको पालमा टेन्डर पाए – बतास  शेरबहादुर देउवानजिकको मान्छे भए पनि उनले सार्वजनिक सम्पत्तिमा आफ्नो व्यापारिक स्थान बनाउँदा केपी ओली सरकारमा थिए । उनले प्राइम टाइम टेलिभिजनको स्टिङ अपरेसनमा भनेका थिए, ‘म शेरबहादुर देउवाको मान्छे । तीन वटै काम केपी ओलीको पालामा भएका छन्  । कम्युनस्टिहरूले दिन्थे मलाई ? कांग्रेसको सरकार हुँदा कांग्रेसले र कम्युनिस्टको सरकार हुँदा कम्युनिस्टले मात्रै टेन्डर पाउने हुन्छ ?,’  उनले आफूले ब्युरोकेसीसँग खेलेको स्वीकार गर्दै भनेका थिए, ‘कर्मचारीतन्त्रसँग खेलेको हो । ब्युरोकेसीमा हजुर नभनी पाउँछ कसैले ?’ बतासको पक्षमा बेल्ने कमल थापा मात्रै बतास समूहबारे बोल्ने कमल थापा एक जना मात्रै  छन् । राप्रपाका पूर्वअध्यक्ष  थापा भने आनन्दराज बतासको पक्षमा देखिएका छन् । उनले सामाजिक सञ्जालमा आफ्नो धारण राख्दै बतासमाथि चौतर्फी हमला भएको जनाएका छन् ।  ‘आनन्दराज बतासविरुद्ध अहिले चौतर्फी हमला भइरहेको छ । भित्री रहस्य थाहा छैन । मैले चिनेको आनन्दराज बतास सामान्य अवस्थाबाट संघर्ष गर्दै सफलतातर्फ अग्रसर एक उद्यमी र अध्यात्मिक विचार भएको मिलनसार व्यक्ति हुन्,’ उनले लेखेका छन् ‘उनीबाट कानुन उल्लंघन भएको छ भने कानुनी कारबाही गरिनुपर्छ । चरित्रहत्या गरिनु ठीक होइन।’