NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

निर्वाचन रणनीति बनाउन बालुवाटारमा सत्ता गठबन्धनको वैठक 

काठमाडौँ । सत्तारुढ दलहरु सामेल उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बालुवाटारमा सुरु भएको छ । सरकार सञ्चालनमा सहयोग गर्न बनेको समितिको संयोजक कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितीमा सुरु भएको वैठकमा राष्ट्रिय सभा निर्वाचनको रणनीति, स्थानीय निर्वाचनको तयारी र कोरोना महामारी छलफलको मुख्य एजेण्डा छ ।  यस्तै नेकपा एमालेले संसद अवरुद्ध गर्दै आएको विषय पनि छलफलको विषय रहेको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताए ।  वैठकमा मुख्यगरी राष्ट्रियसभा निर्वाचनको रणनीतिबारेमा छलफल हुँदैछ । सत्तारुढ दलहरुले राष्ट्रियसभा निर्वाचनमा पनि साझेदारी गरेका छन् । यस्तै स्थानीय निर्वाचनको तयारी पनि आजको मुख्य एजेण्डा बनेको छ ।  संविधानअनुसार स्थानीय तहको नयाँ निर्वाचन गर्ने समय नजिकिएको छ । तर स्थानीय तहको निर्वाचन कहिले गर्ने भन्नेमा दलहरुमा फरक मत रहेको छ । कांग्रेस र एमालेले पहिला संघीय चुनाव गरेर स्थानीय तहको निर्वाचन गर्न जोड दिएका छन् । माओवादी केन्द्र र एकीकृत समाजवादी भने पहिला स्थानीय तहको निर्वाचन र त्यसपछि मात्र संघ र प्रदेशको निर्वाचन गर्ने पक्षमा छन् ।  पहिला संघको निर्वाचन गर्दा कार्यकर्ता व्यवस्थापन र चुनाव व्यवस्थापनमा समेत सहज हुने कांग्रेस, एमालेको साझा बुझाई छ । दुवै दलको स्थानीय तहमा पकड छ ।