NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

तेल किन्न ऋण लिनुपर्ने अवस्था आयो : आयल निगम

काठमाडौं । नेपाल आयल निगमले तेल किन्दा ऋण लिनुपर्ने अवस्था आएको बताएको छ । आफ्नो सञ्चित मुनाफा रित्तिएकाले तेल किन्न ऋण लिनुपर्ने अवस्था आएको निगमको भनाइ छ ।  अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्यअनुसार नेपालमा मूल्य समायोजन गर्न नसकेको निगमले आज एक विज्ञप्ति जारी गर्दै जनाएको छ । तेल किनेको रकम भुक्तानी गर्न नसक्ने अवस्था यसै महिनादेखि आएको निगमले खुलासा गरेको छ । ‘सञ्चित मुनाफा शून्यमा पुगेका कारण आगामी साता भारतीय आयल निगमलाई इन्धन खरिदका लागि तिर्नु पर्ने २ अर्ब रकम समेत अपुग भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘आइओसीको दुई अर्ब तिर्न ऋण लिनुपर्ने वा मूल्य स्थिरीकरण कोषको रकम चलाउनुपर्ने अवस्था सिर्जना भएको छ ।’ पुस मसान्तसम्म निगम १९ अर्ब २६ करोड घाटामा गएको विज्ञप्तिमा उल्लेख छ । यस्तै, भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यपछि अबको एक महिनामा निगमको घाटा २१ अर्ब ५० करोड पुग्ने निगमको भनाइ छ । हाल आफूलाई पेट्रोलमा १३ रुपैयाँ १८ पैसा, डिजेलमा ८ रुपैयाँ ८१ पैसा र खाना पकाउने ग्यास एक सिलिण्डरमा ६४६ रुपैयाँ १६ पैसा घाटा रहेको निगमको दाबी छ ।